एसियाकै नमूना बीपी अस्पतालबाटै हराउँछ फाइल, सास्ती खेप्दै बिरामी-Sutra News

एसियाकै नमूना बीपी अस्पतालबाटै हराउँछ फाइल, सास्ती खेप्दै बिरामी

मंगलबार, २ माघ २०८०

मंगलबार, २ माघ २०८०

काठमाडौं । भरतपुरको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल आउने बिरामीको नाम दर्ता गरेसँगै कर्मचारीको पहिलो काम हुन्छ, बिरामीको फाइल तयार गर्ने । नाम दर्ता गरेपछि फाइल खोजेर बिरामीलाई परिचयपत्र दिइन्छ ।



बिरामीका हरेक परीक्षणहरू त्यो फाइलमा थपिँदै जान्छन् । फाइलमा भएको इतिहास (हिस्ट्री) हेरेर चिकित्सकले थप उपचारका लागि प्रक्रिया अघि बढाउँछन् ।

यो फाइल बिरामीले समेत लैजान पाउँदैन । अस्पतालमै रहन्छ । अर्कोपटक आउँदा पहिला दर्ता गरेको परिचयपत्र हेरेर खोजिन्छ । तर, यही फाइल अस्पतालबाटै गायब हुन्छभन्दा अचम्म लाग्छ । यहाँ आउने बिरामीका लागि सबैभन्दा ठूलो समस्या फाइल हराउने बन्दै गएको छ ।

क्यान्सरका बिरामीका लागि एकपटक आएर उपचार सम्भव छैन । पटकपटक अस्पताल आउने बिरामीका फाइल हराएपछि उपचारमै समस्या हुँदै आएको छ । आउने बिरामीलाई विभिन्न बहानामा दुःख दिएर निजी अस्पताल पठाउने खेल पनि योसँगै जोडिने गरेको पीडितको गुनासो थियो ।

उपचारका लागि सासू लिएर आएकी सर्लाहीकी मञ्जु पौडेल अघिल्लो पटक उपचारपछि छोडिएको फाइल खोज्दै अस्पतालमा भौँतारिदै थिइन् ।

“एक महिनाअघि उपचार गरेर फाइल यही छोडेर गइयो तर अहिले भेटिएकै छैन,” उनले गुनासो गरिन्, “रेकर्ड शाखामा गयो चिकित्सकको कार्यकक्षमा पुगेको छ भन्छन्, तर यहाँ आयो उतै होला भन्छन् ।”

७३ वर्षीया सासू राधिकाकुमारी सापकोटाको उपचारका लागि अस्पताल आइरहनु पर्ने र यहाँ फाइल नभेटिने समस्या हुने उनको गुनासो थियो । उनले थपिन्, “बिहान ५ बजे टोकन लिएपछि ७ बजे टिकट काटेर बिरामी लिएर आउँदा फाइल नै हराउँछ, कस्तो गैरजिम्मेवारपन हो यो ।”

मञ्जु मात्रै होइन कपिलवस्तुबाट उपचारका लागि आएकी ५८ वर्षीया सानीमाया कुँवर आफ्नो फाइल हराएपछि फोटोकपी गरेर राखेको कागजले उपचार गराइरहेको बताइन् । उनले भनिन्, “यसअघि आउँदा मेरो फाइल हराएकाले मैले फोटोकपी गरेर राखेको थिएँ, त्यसैका आधारमा उपचार गराइरहेकी छु ।”

लामो समयदेखि पाठेघरको क्यान्सरको उपचार गराउँदै आएकी उनले फाइल हराउने र समयमा उपचार नपाउने अस्पतालको विशेषता नै भएको बताइन् । उनले थपिन्, “उपचारका लागि टाढाबाट आउनु पर्छ, यहाँ आउँदा कहिले के भन्छन् कहिले के, हामीले निकै सास्ती पाउने गरेका छौँ ।”

तनहुँबाट उपचारका लागि अस्पताल पुगेकी जमुना न्यौपाने अस्पतालका कर्मचारीको व्यवहारका कारण बिरामीले दुःख पाउने गरेको बताइन् । उपचारका लागि आएको पाँचदेखि सात दिनसम्म रोकिनुपर्ने उनको भनाइ थियो ।

पाँच वर्षदेखि जिब्रोको क्यान्सरको उपचार गराउँदै आएकी जमुना अस्पतालमा छोडिएको फाइल हराउनु, समयमा उपचार नपाउनुजस्ता समस्याले सास्ती व्यहोर्नु परेको गुनासो गरिन् ।

अस्पतालका उपनिर्देशक डा. उमेश नेपालले बिरामीको फाइल हराउने गुनासो आएको स्वीकारे । विभागका चिकित्सकसँग पुगेको कतिपय फाइल कर्मचारीले रेकर्ड शाखामा नबुझाउँदा समस्या भएको बताउँदै उनले पूरै हराउने भन्ने नहुने जिकीर गरे ।

अस्पतालमा नेपालका साथै भारत र बंगलादेशबाट समेत क्यान्सरका बिरामी उपचारका लागि आउने गर्दछन् । एसियाको नमूना अस्पतालका रुपमा बनाइएको यस अस्पतालमा पछिल्ला वर्षमा प्रशासनिक प्रणालीमा कमजोरी हुँदा बिरामीले समयमा उपचार नपाउने समस्या भोग्नु परिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट