काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक सम्पत्ति विवरणअनुसार उनको श्रीमतीको नाममा साढे एक करोड मूल्य बराबरको जग्गा रहेको छ ।
मुख्यमन्त्री कार्कीको श्रीमती शान्तादेवी बस्नेतको नाममा बुढीगंगामा एक कट्टा १२ धुर जग्गा छ । यस्तै, बुढीगंगा र विराटनगरमा सात वटा घडेरी छन् । यी सबैको मूल्य एक करोड ५६ लाख ९९ हजार बराबरको रहेको उल्लेख छ ।
यस्तै, विवाह, उपहार तथा खरिद गरेको २५ तोला सुन र चाँदी ८० तोला रहेको जनाएका छन् । उनको श्रीमतीकै नाममा विभिन्न बैंकमा सात लाख ९४ हजार रुपैयाँ नगद छ ।
यसैगरी, ५२ वटा बैंक तथा वित्तीय संस्थाको शेयर आफ्नो, श्रीमती र परिवारको सदस्यको नाममा रहेको जनाइएको छ । जसको मूल्य एक लाख ८७ हजारको रहेको छ । कृषि विकास बैंकको हालको मूल्य पाँच लाख ६३ हजार ४५६ मूल्य बराबरको दुई हजार २७२ कित्ता रहेको छ ।
उनीसँग एक करोड ८ लाख २ हजार ऋणमध्ये मुख्यमन्त्री कार्कीले ८ लाख ७० हजार मात्रै तिरेको उल्लेख गरेका छन् । उनको श्रीमतीको नाममा तीन लाख १८ हजारको एक थान स्कुटर रहेको जनाइएको छ ।