शेयर बजारमा करेक्सन, काराेबार रकम भने दुई वर्षयताकै उच्च-Sutra News

शेयर बजारमा करेक्सन, काराेबार रकम भने दुई वर्षयताकै उच्च

बुधबार, ३ माघ २०८०

बुधबार, ३ माघ २०८०

काठमाडौं । निरन्तरको बृद्धिपछि शेयर बजारमा करेक्सन आएको छ । साताको तेस्रो कारोबार दिन बुधबार १६.०९ अंकले घट्दै बजार २१५९.०७ को बिन्दुमा झरेको छ । समग्रमा बजारमा ०.७४ प्रतिशतले गिरावट आएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।



स्टक एक्सचेन्जका अनुसार बुधबार कारोबारमा आएका २४७ कम्पनीमध्ये ५७ कम्पनीको मूल्यमा बृद्धि भएको छ भने १८६ कम्पनीको मूल्यमा गिरावट आएको छ । चार कम्पनीको मूल्य भने यसअघिकै कायम रह्यो ।

बुधबार दुई कम्पनीको मूल्यमा सकारात्मक सर्किट लाग्यो भने दुई कम्पनीको मूल्यमा नकारातमक सर्किट लाग्यो ।

वाणिज्य बैंक, विकास बैंक, माइक्रो फाइनान्स र अन्य इन्डेक्सबाहेकमा गिरावट आएको छ । बुधबार सर्वाधिक फाइनान्स इन्डेक्समा गिरावट आएको स्टक एक्सचेन्जले जनाएको छ ।

यद्यपि, कारोबार रकम सर्वाधिक

बुधबार करेक्सन देखिएपनि कारोबार रकम भने सर्वाधिक भएको छ । स्टक एक्सचेन्जका अनुसार तीन करोड ३२ लाख नौ हजार ८९६ कित्ता शेयर किनबेच हुँदा कारोबार रकम नौ अर्ब ६३ करोड ६८ लाख ६५ हजार ४८४ रुपैयाँको भयो ।

बुधबार भएकाे कारोबार रकम २९ महिनायताकै सर्वाधिक हाे । यसअघि २०७८ भदौ २० गते ११ अर्ब १४ करोड रुपैयाँको कारोबार भएको थियो । यस्तै, सोही वर्ष भदौ २१ गते ९ अर्ब ७४ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।

जुन केही वर्षयताकै सर्वाधिक कारोबार रकम रहेको स्टक एक्सचेन्जले जनाएको छ । यसअघि मंगलबार पनि बजारमा आठ अर्बमाथिको कारोबार भएको थियो ।

बुधबार सर्वाधिक हिमालयन रि इन्स्योरेन्स, न्याग्दी पावर, सोनापुर मिनरल्स, मुक्तिनाथ कृषि कम्पनी, निफ्रालगायतको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट