सुन तस्करको दाग मेटाउन सुरक्षा नीति परिवर्तन !-Sutra News

सुन तस्करको दाग मेटाउन सुरक्षा नीति परिवर्तन !

बुधबार, ३ माघ २०८०

बुधबार, ३ माघ २०८०

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अहिलेसम्म कति सुन तस्करी भए ? भन्ने प्रश्नको यकिन जवाफ आउन कठिन छ । एकपछि अर्को गर्दै सुन तस्करीको घटनाले खराब बनेको विमानस्थलको छवि सुधार्न पनि उत्तिकै कठिन बनेको छ ।



विमानस्थलबाट भएको सुन तस्करीमा प्रधानमन्त्रीदेखि मन्त्रीसम्म, उच्च कर्मचारीदेखि फोहोर व्यवस्थापकसम्म, व्यापारीदेखि भरियासम्मको नाम पटक–पटक मुछिँदै आएका छन् । सुन तस्करीको घटनासँगै प्रतिपक्षी दलहरूले प्रधानमन्त्रीदेखि मन्त्रीसम्मलाई विभिन्न आरोप लगाउँदै आएको घटना पनि कम छैन ।

विमानस्थलबाट हुने सुन तस्करी नियन्त्रण गर्न सरकारले कर्मचारीमाथि निगरानी राख्दा विरोध हुन्छ । कर्मचारीहरू काम ठप्प गरी सरकारविरुद्ध आन्दोलन गर्छन् । यसको पछिल्लो उदाहरण हो– गत साउन २ गते हङकङबाट मोटरसाइकलको ‘ब्रेक शु’मार्फत आएको ६० किलो सुन प्रकरणपछि कर्मचारीले गरेको अन्दोलन ।

सुन बरामद भएपछि सरकारले अनुसन्धानका लागि भन्सार अधिकृतसहित दर्जनौँ कर्मचारीलाई निलम्बन गरी अनुसन्धान गरेको थियो । लगत्तै विमानस्थलका दर्जनौँ अधिकृतसहित अधिकांश कर्मचारीहरूले आन्दोलन गरी काम छाड्ने घोषणा गरेका थिए ।

यस्तै, सुन तस्करीमा विमानस्थलका फोहोर व्यवस्थापन गर्ने कर्मचारीले कसरी काम गर्छ भन्ने घटना गोरखाका चन्द्रबहादुर घलेले ल्याएको १४ किलो सुन प्रकरणको अनुसन्धानबाट खुलेको थियो ।

दुबईबाट १४ किलो सुन बोकेर काठमाडौं आएका घलेले आफूले ल्याएको सुन फोहोर फाल्ने डस्टबिनमा फालेर बाहिर आउने योजना रहेको बताएका थिए । उनले सामान्य तवरबाट आफूले लगाएको कपडामा सुन बोकेका थिए ।

यसरी विमानस्थलबाट सुन छिराउन सक्छु भनेर ल्याएको हो त ? भनेर सोधिएको प्रश्नमा घलेले भनेको कुरा उदृधत गर्दै पत्रकार सम्मेलनमा विमानस्थलका कर्मचारीले भनेका थिए, “डस्टबिनमा फालेर बाहिर फोहोर उठाउनेले ल्याइदिने योजना रहेको बताए, यद्यपि आगमन कक्षको फोहोर उठाइदिने व्यक्ति को हो भन्ने कुरा बताएन ।”

त्रासदीपूर्ण तस्करी श्रृंखला

विमानस्थलबाट भएको सुन तस्करीमा सबैभन्दा चर्चित घटना हो– ३३ किलो सुन तस्करी प्रकरण । छ वर्षअगाडि अर्थात वि.सं. २०७४ फागुन तेस्रो साता दुबईबाट नेपाल आएको सुन हराएपछि घटना बाहिर आएको थियो ।

दुबईबाट आएको ३३ किलो सुन त्रिभुवन विमानस्थलबाट बाहिरिने क्रममा हराएको थियो । यस प्रकरणमा जोडिएका प्रमुख व्यक्ति थिए– गोरे अर्थात् चुडामणि उप्रेती । सुन हराएपछि विमानस्थलबाट सुन लिएर बाहिरिएका कर्मचारी सानु बनलाई गोरेले यातना दिए । उनको धम्की र यातनापछि बनले आत्महत्या गरे । उनी विमानस्थलकै कर्मचारी थिए ।

बनको मृत्युपछि गोरेको निशानामा परे मोरङ उर्लाबारीका सनम शाक्य । गोरेले भरिया शाक्यलाई करेन्ट लगाएर हत्या नै गरिदिएका थिए । यो घटनामा नेपाल प्रहरीका पूर्वडीआईजीदेखि बहालवाला प्रहरी अधिकृतदेखि ठूला व्यापारी घरानासमेत मुछिए ।

अनुसन्धान गरी प्रहरीले मोरङ जिल्ला अदालतमा फाइल पेश गरेको थियो । तर, अदालतले अधिकांशलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो । सोही घटनाका आरोपी गोरे अहिले कारागारको गोल घरमा छन् । ३३ किलो सुन हराएपछि सुरु भएको अनुसन्धानमा ३८ क्विन्टल सुन तस्कर भइसकेको खुलेको थियो ।

सुरक्षा नीति परिर्वतन

विमानस्थलबाट बारम्बार सुन तस्करी हुन थालेपछि बुधबारदेखि सुरक्षा नीति परिवर्तन भएको छ । सुरक्षामा त्रुटिरहित बनाउनका लागि प्रहरीलाई दिँदै आएको जिम्मेवारी खोसिएको हो । विमानस्थलको भन्सार सुरक्षामा प्रहरीलाई हटाउँदै सशस्त्र प्रहरी बललाई उक्त जिम्मेवारी दिएको प्रमुख भन्सार प्रशासक डा. टोकराज पाण्डेले बताए ।

पाण्डेका अनुसार यसका लागि पहिलो चरणमा सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ३० जना सशस्त्र प्रहरी परिचालन गरिने भएको हो । “अर्थमन्त्री स्तरीय निर्णयबाट अनुरोध भएको र उपप्रधानमन्त्री तथा गृहमन्त्रीबाट निर्णय भई विमानस्थलको भन्सार जाँच गर्न दैनिक पाँच सिफ्टमा सशस्त्र प्रहरी परिचालन गरिएको छ”, उनले भने ।

विमानस्थलको सुरक्षामा सुधार गर्ने, प्रभावकारी सेवा प्रवाह गर्ने उद्देश्यका साथ सशस्त्र प्रहरीको प्रत्यक्ष सुपरिवेक्षण तथा निर्देशनमा भन्सार क्षेत्रमा जाँच गर्न सुरु गरिएको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट