जाडोमा बालबालिकालाई कसरी जोगाउने ? यी हुन् ध्यान दिनैपर्ने कुरा-Sutra News

जाडोमा बालबालिकालाई कसरी जोगाउने ? यी हुन् ध्यान दिनैपर्ने कुरा

बुधबार, ३ माघ २०८०

बुधबार, ३ माघ २०८०

ठूला मान्छेको तुलनामा बच्चाहरूको रोगसँग लड्ने क्षमता कम हुन्छ । जाडो मौसममा भाइरसको वृद्धिदर एकदमै बढी हुन्छ । किटाणु पनि धेरै सक्रिय हुन्छन्।



बच्चाको रोगसँग लड्ने क्षमता कम हुने हुँदा नानीबाबुहरूलाई जाडोको समयमा बढी समस्या देखिन्छ। त्यसैले जाडोको समयमा धेरै अभिभावकको एउटै चिन्ता हुन्छ, आफ्ना बालबालिकालाई कसरी चिसोबाट जोगाउने ?

चिसो मौसममा धेरैलाई श्वासप्रश्वासको समस्या हुन्छ। बच्चालाई नाकदेखि फोक्सोसम्म असर देखिन्छ। नाकसम्बन्धी रोगमा रुघा,खोकी र एलर्जी हुन्छन् । घाँटी र कानसम्बन्धी संक्रमण देखिन्छ भने श्वास नलीको संक्रमण पनि देखिने गर्छ।

जाडोमा बच्चाहरूलाई दमले पनि सताउने खतरा हुन्छ।

बच्चालाई फोक्सोको संक्रमण पनि हुनसक्छ । फोक्सोको संक्रमणले निमोनिया हुन्छ। बच्चालाई पेटसम्बन्धी समस्या देखियो भने पेट दुख्ने, वान्ता हुने र झाडापखाला हुने हुन्छ।

त्यसबाहेक आँखा पाक्ने, आँखाको ढकनीको संक्रमण, आँखा सुख्खा हुने अनि अन्नो हुने हुन्छ। छाला सुख्खा हुने तथा लुतो आउने पनि हुन्छ।

उपचार कसरी गर्ने ?

कुनै समस्या देखिए पहिलो उपचार विधि बच्चालाई तातो बनाएर राख्ने नै हो। प्रशस्त झोलिलो खाना खुवाउने गर्नुपर्छ। जाडोमा बढी भाइरल हुने र त्यसले गर्दा ज्वरो आउने भएकाले यस्तो बेलामा सिटामोल खान दिनुपर्छ तर जथाभाबी एन्टिबायोटिकको प्रयोग भने गर्नु हुँदैन।

भाइरलबाट जोगिन खोप पनि लगाउन सकिन्छ। चिसो मौसम सुरू हुनुभन्दा पहिला इन्फ्लुएन्जाको खोप लगाउने गरियो भने डायरियालगायत समस्याबाट ८० प्रतिशतसम्म जोगिन सकिन्छ।

बिरामी लाग्नै नदिन के गर्ने ?

पहिला सामान्य कुरामा ध्यान दिन सकियो भने यस्ता समस्याबाट जोगाउन सकिन्छ। त्यो भनेको सबैभन्दा पहिला बच्चालाई न्यानो बनाएर राख्ने हो। प्रशस्त मात्रामा झोल चिज खान अनि विशेषगरि सरसफाइमा ध्यान दिनुपर्छ। खानुभन्दा पहिला हात धुन सिकाउने र हात धोएरमात्रै खान दिने गर्नुपर्छ। पोषणयुक्त खाना खुवाउन पर्छ जसले रोगसँग लड्न सक्ने क्षमता बढाउँछ। जथाभाबी औषधी किनेर खुवाउनु हुँदैन।

– फलफूल, हरियो सागसब्जी र माछा मासुको झोल खुवाउनु पर्छ।

– सामान्य ज्वरो आएको छ, बच्चाले राम्रैसँग खाएको छ, बच्चा शिथिल छैन भने घरमै उपचार गर्न सकिन्छ।

– अलि धेरै ज्वरो आयो, बच्चाले धेरै छिटो श्वास फेर्‍यो र कोखा हान्ने, बच्चा बेहोस हुने, बच्चालाई दिसा लाग्ने तथा वान्ता भइरहने भयो भने त्यस्तो अवस्थामा अस्पताल लगेर उपचार गर्नुपर्छ।

– बच्चाहरुलाई बिहानको घाममा राख्नुपर्छ । यो एकदमै जरुरी छ ।यसले भिटामिन डि त प्रदान गर्छ नै चिसो लाग्नबाट बचाउँछ । घाममा राख्दा तोरीको तेलले मालिस गरिदिनुपर्छ ।

– बिहान बेलुका मनतातो पानी खुवाउनुपर्छ । सुत्ने बेलामा मनतातो दूध नभए पानी खुवाएर सुताउनुपर्छ ।

– धेरै अभिभावकले जाडोमा सुन्तलाले चिसो लाग्छ भनेर खान दिँदैनन् तर सिजन अनुसारको फलफूल खानदिनुपर्छ । बदाम पनि खान दिनुपर्छ । यसले तातो गराउँछ ।

– तातो बनाउने भनेर हिटर बालेर मसाज गर्दिन्छन् तर हिटर तथा कोइलाले कार्बोन्डाइअक्साइड फाल्ने भएर साँस फेर्न गाह्रो हुन सक्छ । छालामा पनि असर गर्न सक्छ । हिटर वा कोइला एकदम कम समयको लागि बाल्ने गर्नुपर्छ ।

– साना नानीहरुलाई जाडो छ भनेर धेरै लुगाहरु लगाइदिने गर्छन् अभिभावकहरु त्यसो गर्नुहुन्न । । कहिलेकाही त्यही लुगा बढी भएर पसिना आउने हुन्छ र त्यही पसिना सोसेर निमोनिया हुन सक्छ । पसिना आएको छ वा छैन भनेर चेक गर्नुपर्छ ।

– राती सुत्दा साना नानीहरुलाई डाइपर नै लगाइदिए हुन्छ । परिवर्तन गरिराख्दा झन चिसो लाग्न सक्ने हुन्छ ।

– तातो तथा ताजा खानेकुरामा जोड दिनुपर्छ । झोलिलो खानेकुरामा ध्यान दिनुपर्छ ।

– बच्चाहरुलाई राती सुत्दा मोजा र टोपी नछुटाउने ।

– स्तनपान गराइरहेका महिलाहरुलाई दूध खुवाउन छुटाउनुभएन । यसले पनि चिसोबाट बचाउँछ।

– छाला सुख्खा हुनेभएकाले मोस्चराइजर लगाइदिराख्नुपर्छ । नुहाउनेबित्तिकै लगाइदिनु अझै राम्रो हुन्छ ।

– त्यसैगरी बिहान र साँझ शीत पर्ने हुनाले चिसोमा खेल्न नदिने । घाम लाग्दा भने खेल्न दिनुपर्छ । घरभित्रै खेल्न दिएको राम्रो हुन्छ । डान्सहरु गराउने । उफ्रिने अभ्यास गराउनुपर्छ ।

– तुलसीको पात उमालेर खुवाउन सक्छ । यसमा चिसोबाट बचाउन सक्ने तत्व हुन्छ । तातो पानी वा कालो चियामा राखेर दिन सकिन्छ । एजेन्सीकाे सहयाेगमा

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट