काठमाडौं । भारतमा जारी टी २० शृंखलाको पहिलो २ खेलमा खाता खोल्न नसकेका कप्तान रोहित शर्माले विश्व कीर्तिमान बनाएका छन् ।
अफगानस्थानसँगको टी २० अन्तर्राष्ट्रिय (टी २० आई)मा शर्माले आफ्नो ५ औँ शतक प्रहार गरे । उनले रिङ्कु सिंहसँग १९० रनको साझेदारी गरे । जुन भारतका लागि सबैभन्दा ठूलो थियो ।
टी २० अन्तर्राष्ट्रिय प्रतियोगितामा रोहित शर्माले बनाएको कीर्तिमान यस्तो छ :
सबैभन्दा धेरै छक्का प्रहार गर्ने कप्तान
भारतीय टोलीका कप्तान रोहित शर्मा टी २० अन्तर्राष्ट्रियमा कप्तानका रूपमा सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी बनेका छन् । रोहितले इंग्ल्याण्डका पूर्व कप्तान ओएन मोर्गनको कीर्तिमान तोडेका हुन् ।
मोर्गनको नाममा कप्तानको रुपमा ८६ छक्का प्रहार गर्ने कीर्तिमान छ । रोहितले अफगानिस्तानविरुद्ध कूल ८ छक्का प्रहार गर्दै कप्तानका रूपमा सर्वाधिक छक्का प्रहार गरे । यो ढाँचामा उनको ९० छक्का पुगेका छन् ।
सबैभन्दा धेरै शतक बनाउने खेलाडी
रोहित शर्मा टी २० अन्तर्राष्ट्रियमा सर्वाधिक शतक बनाउने खेलाडी बनेका छन् । उनले आफ्नो ५ औँ शतक पूरा गरे । उनले अष्ट्रेलियाका ग्लेन म्याक्सवेल र भारतका सूर्यकुमार यादवलाई पछाडि छाडे । दुवैको नाममा ४-४ शतक छ ।
रोहित शर्माले पहिलो शतक सन् २०१५ मा दक्षिण अफ्रिकाविरुद्ध १०६ रन बनाएका थिए ।
यस्तै, पाकिस्तानका बाबर आजमले ३ शतक प्रहार गरेका छन् । विश्वका सर्वाधिक टी २० रन स्कोरर विराट कोहलीले आफ्नो करियरमा एक मात्र शतक बनाउन सकेका छन् ।
रोहित-रिङ्कुको सर्वाधिक ठूलो साझेदारी
रोहित शर्मा र रिङ्कु सिंहले पाँचौं विकेटका लागि १९० रनको साझेदारी गर्दै नयाँ कीर्तिमान बनाए । यो भारतका लागि यस ढाँचामा कुनै पनि विकेटको सबैभन्दा ठूलो साझेदारी हो । यसअघि सन् २०२२ मा आयरल्याण्डविरुद्ध १७६ रनको साझेदारी भएको थियो ।
कप्तानका रूपमा रोहितको सर्वाधिक रन
रोहित शर्माले भारतीय कप्तानका रुपमा सर्वाधिक रन बनाउने कीर्तिमान बनाएका छन् । भारतीय कप्तानका रूपमा रोहितले १६४८ रन बनाएका छन् । इनिङ्सको ४४ औँ रन लिने बित्तिकै विराटलाई पछाडि छाडे । कप्तानको रूपमा विराटको नाममा १५७० रन छ ।
विश्व क्रिकेटमा यो कीर्तिमान आरोन फिन्चको नाममा छ । फिन्चले ७६ टी २० खेलमा अष्ट्रेलियाको कप्तानी गर्दै कूल २२३६ रन बनाए । यद्यपि उनले सन्यास लिएका छन् ।
दोस्रो स्थानमा पाकिस्तानका बाबर आजम छन् । उनको कूल २१९५ रन छ । उनी अहिले कप्तान छैनन् । न्युजिल्याण्डका कप्तान केन विलियम्सनको नाममा २१२५ रन बनाएका छन् । रोहित चौथो नम्बरमा छन् ।
भारत-अफगानिस्तान खेलमा बनेको उच्चतम स्कोर
भारत र अफगानिस्तानबीचको खेलमा पहिलो पटक कूल स्कोर ४०० रन पार भएको छ । दुवै टोलीले मिलेर ४० ओभरमा ४२४ रन बनाएका थिए । दुवै टोलीले २१२-२१२ रन बनाएका थिए । यसअघि दुई टोलीबीचको खेलमा सबैभन्दा ठूलो योगफल सन् २०२१ को विश्वकपमा बनेको थियो ।
त्यसपछि भारतले २१० रन बनाएको थियो भने अफगानिस्तानले १४४ रन बनाएको थियो । अर्थात् खेलमा कूल ३५४ रन बन्यो ।