काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने जति चर्चित छन्, उत्ति नै विवादित पनि । विशेषगरी पत्रकारिताबाट राजनीतिमा लागेसँगै लामिछाने एकपछि अर्को गरी विवादमा फसिरहेका छन् ।
गत वर्ष आम निर्वाचनको मुखमा पार्टी खोलेर चुनावमा होमिएको उनी नेतृत्वको रास्वपा देशको चौथो ठूलो शक्ति बन्यो । सोही पार्टीको सभापति लामिछाने एक महिना उपप्रधानसहित गृहमन्त्री पनि बने ।
तर, नागरिकता विवादमा सर्वोच्च अदालतको फैसलासँगै लामिछानेले नागरिकतासँगै सांसद र मन्त्री पद गुमाए । यद्यपि, अदालतको फैसलापछि उनले पुनः नागरिकता लिए र सांसद पनि बने । तर, मन्त्री भने हुन सकेनन् ।
योबीचको अवधिमा उनी नेतृत्वको पार्टी संसदमा प्रतिपक्षीको बेन्चमा छ । प्रतिपक्षीको बेन्चमै बसेपनि उनी र उनको पार्टी एकपछि अर्को गर्दै विवादमा फसिरहेको छ ।
कहिले सांसद तथा मन्त्री हुन लेनदेनको डिल होस् त कहिले विवादितलाई जिम्मेवारी दिएर रास्वपा विवादमा तानिरहेको छ । सँगै योबीचमा पार्टीका विवादित मुद्दाभन्दा स्वयम् सभापति लामिछानेका मुद्दा अझ ‘बोझिला’ बनेका छन् ।
विवादकै ‘पर्याय’ लामिछाने
लामिछानेले पत्रकारिताबाट जति ख्याति कमाए उत्तिकै विवाद पनि । यद्यपि, राजनीतिमा उनको सफलता पत्रकारितामा कमाएको ख्यातिकै लाभ हो ।
पत्रकारितामै आबद्ध भइरहेको समयमा लामिछानेमाथि आत्महत्या दुरुत्साहनको आरोप लाग्यो । उनकै सहकर्मी सालिकराम पुडासैनीले आत्महत्या गर्नुअघि लामिछानेविरुद्ध गम्भीर आरोप लगाएका थिए । उक्त आरोपमा मुद्दा चल्यो । तर, कारबाही भएन, लामिछाने धरौटीमा छुटे ।
विवादित उक्त मुद्दाले उनलाई घाटा होइन, नाफा दिलायो । सामान्य स्तरका मानिसमा लामिछानेलाई ‘फसाइएको’ भन्ने भाष्य सिर्जना भयो । जसको फाइदा उठाउँदै उनले चितवनमा सार्वजनिक समारोह गरे । उनको पक्षमा ठूलो माहोल सिर्जना भएको देखियो ।
मिडियाको शक्ति बुझेका लामिछानेले उक्त घटनापछि आफैंले लगानी जुटाएर टेलिभिजन खोल्ने योजना बनाए । लगत्तै आफू एमडी हुने गरी गोरखा मिडिया नेटवर्कमार्फत ग्यालेक्सी टेलिभिजन सञ्चालनमा ल्याए ।
गोरखा मिडिया नेटवर्क कम्पनीको अध्यक्षमा भने उनले जिबी राईलाई अगाडि सारेका थिए । जिबी कास्कीको सूर्य दर्शन सहकारीसहित देशका विभिन्न जिल्लामा रहेका सहकारीका सञ्चालक थिए ।
उनै राईले सहकारीको करोडौँ रकम ग्यालेक्सी टेलिभिजनमा लगानी गरे । उनले कम्पनीको ठूलो हिस्सा शेयर लामिछानेलाई दिएका थिए । अहिले सहकारी ठगी अभियोगमा राई फरार छन्, लामिछाने भने देश दुनियाँ घुमिरहेका छन् ।
लामिछानेको रहरले हजारौं बिचल्ली
लामिछानेमाथि लागेको विभिन्न आरोपमध्ये अहिले सरकारी ठगी प्रकरण सबैभन्दा चर्चामा छ । यो प्रकरणमा लामिछाने र मिडियाबीच नमिठो शैलीको द्वन्द्वको अवस्था पनि देखिएको छ । विशेषतः कान्तिपुर मिडियासँग उनको जुहारी चलिरहेको देखिन्छ ।
कान्तिपुरले सहकारीको ठगी प्रकरणमा एकपछि अर्को खुलासा गर्यो । आफ्नाविरुद्ध समाचार लेखिरहेको कान्तिपुरमाथि लामिछान खुलारुपमै खनिएका छन् ।
उनले कान्तिपुर मिडियाविरुद्ध अदालतको ढोकासम्म चाहारेका छन् । लामिछानेले कान्तिपुर मिडियाविरुद्ध काठमाडौं जिल्ला अदालतमा रिट दायर गरेका छन् । कान्तिपुरले तथ्यहिनरुपले आफूविरुद्ध आक्रमण गरेको आरोप लामिछानेको छ ।
सहकारी प्रकरणमा आफूलाई फसाइएको आरोप लामिछानेको छ । तथापि, उनका बयान भने एकपछि अर्को गरि विवादित छन् । उनले सुरुमा सहकारी नै नचिनेको बताएका थिए । तर, पछि ऋण लिन नहुने थाहा नभएको बताए । फेरि उनले आफ्नो नागरिकताको दुरुपयोग गरी अन्य ऋण निकालेको हुनसक्ने पनि बताए ।
जे भएपनि उनको योजनामा सहकारीका लगानीकर्ताहरु फसेका छन् । पोखरा, चितवन, बुटवलसहित थुप्रै ठाउँमा हजारौं लगानीकर्ताको बिचल्ली हुने अवस्था आएको छ ।
रवितिरै फर्किएको आरोप
रास्वपा सभापति लामिछानेले सहकारी ठगीमा आफ्नो कुनै भूमिका नरहेको भन्दै समाचार लेख्ने मिडियाविरुद्ध जिल्ला अदालत काठमाडौं पुगे । तर, आफूविरुद्ध समाचार लेख्नेलाई धम्क्याउन अदालत पुगेका रविमाथि नै उजुरी पर्न थालेका छन् ।
माघ २ गते सहकारी ठगी गरेको अभियोगमा लामिछानेविरुद्ध सहकारी विभागमा उजुरी दर्ता भएको छ । उनीविरुद्ध सामाजिक अभियन्ता युवराज सफलले उजुरी दिएका छन् ।
उजुरीमा लामिछानेले कास्कीको सूर्य दर्शनसहित अरु सहकारीको रकम हिनामिना गरी गोरखा मिडिया नेटवर्क सञ्चालन गरेको अभियोग लगाइएको छ । उनीसँगै कम्पनीका अध्यक्ष तथा सूर्य दर्शन सहकारीका अध्यक्ष जिबीविरुद्ध पनि उजुरी दर्ता भएको छ ।
उजुरीमा भनिएको छ, ‘सहकारीमा बचत गर्ने सदस्यलाई बाहेक अरुलाई कर्जा लगानी गर्न नपाइने सहकारीको नियमलाई कुल्चेर सहकारी अध्यक्ष जिबी राईले आफै अध्यक्ष रहेको एउटा प्राइभेट कम्पनीलाई बिना धितो कर्जा प्रवाह गरेका छन्,’ उजुरीमा भनिएको छ, ‘रवि लामिछाने त्यो समयमा कम्पनीको एमडीको जिम्मेवारीमा थिए, मिडियाका अध्यक्ष जिबी र एमडी रविले गैरकानूनी कर्जा लिएर हजारौँ बचतकर्ताहरूको खुन र पसिनामाथि खेलबाड गरेको अवस्था छ ।’
योसँगै सामूहिकरुपमा पीडितहरुले ठगी मुद्दा नै दिने पनि तयारी गरेका छन् । सहकारी ठगी प्रकरणमा राईसहित अन्यविरुद्ध पक्राउ पुर्जी नै जारी भएको छ । जसमा केही पक्राउ परेका छन् भने मुख्य मानिएका राई फरार छन् । यस्तोमा लामिछाने पनि अनुसन्धानको घेरामा पर्ने देखिएको छ ।