निपाह खोप मानवमा परीक्षण, ‍सफल भए ठूलो उपलब्धी हुने-Sutra News

निपाह खोप मानवमा परीक्षण, ‍सफल भए ठूलो उपलब्धी हुने

बिहिबार, ४ माघ २०८०

बिहिबार, ४ माघ २०८०

काठमाडौं । अक्सफोर्ड युनिभर्सिटीले निपाह भाइरसको खोपको मानवमा परीक्षण सुरु गरेको छ । अहिलेसम्म यो भाइरसको कुनै खोप बनेको थिएन ।



यदि, परीक्षण सफल भए निपाह भाइरसको पहिलो खोप हुनेछ । निपाह भाइरसको लक्षणलाई औषधिको माध्यमबाट नियन्त्रण गर्ने प्रयासमा चिकित्सकहरू लाग्दै आएका थिए ।

रोयटर्सका अनुसार गत हप्ता १८-५५ वर्ष उमेर समूहका ५२ जनामा यो खोपको डोज दिइएको थियो । अब सहभागीको प्रतिरक्षा प्रणालीमा खोपको प्रभाव अध्ययन भइरहेको छ ।

अक्सफोर्ड भ्याक्सिन ग्रुपको निगरानीमा सम्भावित खोपको परीक्षण भइरहेको छ । सीईपीआईले यस समूहलाई रकम उपलब्ध गराउँदै आएको छ । यो एक विश्वव्यापी गठबन्धन हो । जसले नयाँ संक्रामक रोगविरुद्ध खोपको विकास गर्दै आएको हुन्छ ।

अमेरिकी कम्पनी मोडर्नाले पनि निपाह भाइरसको खोप बनाउने काम सुरु गरेको छ । सन् २०२२ मा मोडेर्नाले युएस नेशनल इन्स्टिच्युट अफ एलर्जी एण्ड इन्फेक्सियस डिजिजसँगको सहकार्यमा खोप बनाउन थाले पनि यसको परीक्षण सुरु भएको छैन ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार निपाह भाइरस पहिलो पटक सन् १९९८ मा मलेसियाको सुङ्गाई निपाह गाउँमा भेटिएको थियो । यस गाउँको नामबाट यसको नाम निपाह राखिएको हो ।

त्यसपछि सुँगुर पालन गर्ने किसानलाई यो भाइरसको संक्रमण देखिएको थियो । मलेसिया केश रिपोर्टका अनुसार कुकुर, बिरालो, बाख्रा, घोडा जस्ता घरपालुवा जनावरबाट पनि संक्रमण फैलिएको घटना सार्वजनिक भएको छ ।

मलेसियामा निपाह देखा परेपछि सोही वर्ष सिंगापुरमा यो भाइरस भेटिएको थियो । यसपछि सन् २००१ मा बंगलादेशमा यो भाइरसबाट संक्रमित बिरामी भेटिएका थिए ।

केही समयपछि बंगलादेशसँगको भारतीय सीमावर्ती क्षेत्रमा निपाह भाइरसका बिरामी भेटिन थालेका थिए । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट