किन घट्याे माछापुच्छ्रे बैंकको नाफा ?-Sutra News

किन घट्याे माछापुच्छ्रे बैंकको नाफा ?

शुक्रबार, ५ माघ २०८०

शुक्रबार, ५ माघ २०८०

काठमाडाैं । चालु आर्थिक वर्ष २०८०-८१ को दोस्रो त्रैमासमा माछापुच्छ्रे बैंकको नाफामा २१ प्रतिशतले गिरावट आएकाे छ ।



गत आर्थिक वर्ष २०७९-८० को दोस्रो त्रैमासमा एक अर्ब दुई करोड रूपैयाँ नाफा आर्जन गरेकाे बैंकले चालु आर्थिक वर्ष त्रैमासमा जम्मा ८० करोड ५३ लाख रूपैयाँ कमाएकाे छ । जुन गत आर्थिक वर्षकाे साेही अवधिकाे तुलनामा २१.४५ प्रतिशतले कम हाे ।

नाफा घटेसँगै बैंकको वितरणयोग्य नाफा २४ करोड ६९ लाख रुपैयाँ ऋणात्मक देखिएको छ ।

बैंककाे नाफा घट्नुमा अन्य थुप्रै कारण भएपनि विशेषगरी खुद ब्याज आम्दानी घट्नुले नाफामा प्रभावित भएकाे देखिन्छ । बैंकको मुख्य व्यवसायबाट हुने आम्दानीको रुपमा लिइने खुद ब्याज आम्दानी ५.५६ प्रतिशतले घटेर २ अर्ब ६३ करोड रूपैयाँ पुगेको छ। गत आर्थिक वर्षको यसै अवधिमा भने यस्तो आम्दानी २ अर्ब ७९ करोड २९ लाख रुपैयाँ थियो ।

खुद नाफा घट्दा बैंककाे प्रतिसेयर आम्दानी पनि खस्किएको छ । बैंकको वार्षिक प्रतिसेयर आम्दानी १३ रुपैयाँ ८६ पैसा छ । गत वर्षको यस अवधिमा २० रुपैयाँ थियो ।

बैंकको खराब कर्जा लगभग दोब्बरले बढेकाे छ । गत वर्षको पुस मसान्तसम्म कुल कर्जामा खराब कर्जाको अंश १.४१ प्रतिशत रहेकोमा यो पुस मसान्तसम्म यस्तो कर्जा २.६२ प्रतिशत पुगेकाे छ । जसले पनि समग्रतामा प्रभाव पारेकाे देखिन्छ ।

बैंकले कर्जा विस्तार गर्न सकिरहेकाे छैन । असारमा एक खर्ब २६ अर्ब रूपैयाँ बराबर कर्जा लगानी भएकोमा पुसअन्त्यसम्ममा मात्रै एक खर्ब २९ अर्ब रूपैयाँ कर्जा विस्तार भएको छ। बैंकलाई पुँजी कोष अनुपातमा दबाब रहेकोले पनि कर्जा बिस्तार गर्न सकिरहेको छैन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट