काठमाडौं । गायक तथा सर्जक भगवान भण्डारीले आफ्नो भाकामा लाइभ दोहोरी गाएर रोयल्टी दिन्छु भनेर नदीनेको आलोचना गरेका छन् ।
पछिल्लो समय लाइभ दोहोरीको ट्रेण्ड चलिरहेको अवस्थामा मूल सर्जकलाई न्याय नदिएको भन्दै गायक भण्डारीले सामाजिक सञ्जाल फेसबुकमार्फत आलोचना गरेका हुन् । यद्यपि, यस विषयमा आलोचना गर्ने उनी पहिलो कलाकार होइनन् ।
मूल कलाकारको गीतका भाकामा लाइभ दोहोरीका कलाकार हाबी हुन थालेपछि सर्जकहरूले विरोध गर्दै आएका थिए । यसबीच राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको समन्वयमा लाइभ दोहोरी गाउने गायक गायिका र सर्जकबीच आपसी समझदारीपश्चात गाउने भनिएसँगै विवाद अन्य भएको थियो ।
‘पहिला मनोरञ्जनका लागि मात्रै गाइने लाइभ दोहोरी अहिले लगभग व्यवसायिक भइसकेको छ, यो राम्रो कुरा हो, कतिले यसलाई सदुपयोग गर्नु भएको छ, कतिले क्षणिक आम्दानीको रूपमा प्रयोग गर्नु भएको छ,’ गायक भण्डारीले भने ।
उनले आफ्नो व्यक्तिगत फाइदाभन्दा समग्र दोहोरी क्षेत्र व्यवस्थित बनाउन लाग्न सबैलाई आग्रह गरे ।