काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सहकारी पीडितहरूको पैसा सरकारले तिर्नु पर्ने बताएका छन् ।
चितवनमा सहकारी पीडित तथा आफ्ना मतदातासँगको छलफलमा सभापति लामिछानेले सहकारी खोल्न सरकारले लाइसेन्स दिने सहकारीका सदस्यहरू मर्का पर्दा बेवास्ता गर्न नमिल्ने बताए ।
उनले भने, ‘मेरो दायित्व भनेको तपाईंहरूको बचत फिर्ता नभएसम्म लडाईं लड्ने हो, त्यही समाधान खोज्नु पर्छ भनेर देशैभरिका सहकारी पीडित मकै पोलेर, मजदुरी गरेर प्रत्येक दिन हामीलाई भेटेकाले हाम्रो पार्टीमा नै यसको समाधान गर्ने प्रतिवेदन बनाएका छौँ ।’
उनले सवाल चितवनका सहकारी पीडितको मात्र नभई देशैभरका सहकारी पीडितको पक्षमा काम गर्न डा. स्वर्णीम वाग्लेको संयोजकत्वमा समाधानसहितको प्रतिवेदन तयार पारेको जानकारी दिए ।
यस्तै, उनले साहारा सहकारीबाट ग्यालेक्सी टेलिभिजन सञ्चालनको लागि पैसा लगेको कुरा आएपछि लामिछानेले चितवनका सहकारी पीडितहरूसँग भेट गरेका हुन् । यस क्रममा उनले भने, ‘अब कस्को चिन्ता के भन्ने हुन्छ ?, कसैको चिन्ता यसभित्रको राजनीति होला ? विपक्षी दलको चिन्ता रास्वपाप्रति होला ? कसैको चिन्ता रवि लामिछानेप्रति होला ?’
सभापति लामिछानेले आफू टेलिभिजनमा हुँदा कुनै पनि सहकारीबाट पैसा लिएको कुरा थाहा नभएको भन्दै सधै सहकारी पीडितको पक्षमा हुने बताए । उनले टेलिभिजनमा रहँदा कार्यक्रम चलाउने समाचार बनाउने जिम्मेवारी पाएकाले लगानी गर्ने तहमा नभएको दाबी गरे ।
करिव दुई सय जनाको हाराहारीमा जम्मा भएका सहकारी पीडितले सहकारीमा पैसा डुबेको कारण औषधी उपचारलगायत समस्या भएको गुनासो गरेका थिए ।