काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगितामा मधेस प्रदेशले कर्णाली प्रदेशलाई पराजित गरेको छ । त्रिवि क्रिकेट मैदानमा शनिबार भएको खेलमा मधेसले कर्णालीलाई ६१ रनले पराजित गरेको हो ।
जितका लागि २३२ रनको लक्ष्य पछ्याएको कर्णाली ४१ दशमलव १ ओभर खेल्दै १७० रनमा समेटियो । कर्णालीका लागि अर्जुन घर्तीले अर्ध शतकीय पारी खेल्दै ५८ रन बनाए । मधेसका राजेश यादवले तीन विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको मधेसले ५० ओभरमा ९ विकेट गुमाउँदै २३१ रन जोड्यो । मधेसका लागि कप्तान हरिशंकर शाह र मयन यादवले समान ५०–५० रन बनाए । कर्णालीका दीपेन्द्र रावतले चार विकेट लिए ।
पाँच खेलमा तीन जित निकालेको मधेस प्रदेश तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । पराजित भएको कर्णाली प्रदेश ४ अंकका साथ तालिकाको सातौँ स्थानमा छ ।