सदन खुल्ने बित्तिकै टीआरसी विधेयक टुंगाे लाग्छ-Sutra News

सदन खुल्ने बित्तिकै टीआरसी विधेयक टुंगाे लाग्छ

आइतबार, ७ माघ २०८०

आइतबार, ७ माघ २०८०

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद् अधिवेशन आह्वान हुने बित्तिकै टीआरसी विधेयकअघि बढाएर टुङ्गोमा पुर्‍याउने बताएका छन् । आइतबार युगान्डामा आयोजित असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) को उन्नाइसौँ शिखर सम्मेलनमा सहभागी भएर स्वदेश फर्किएपछि त्रिभुवन विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले यस्ताे बताएका हुन् ।



‘टीआरसी विधेयक सदन खुल्ने बित्तिकै सहमतिबाटै टुङ्गिन्छ र शान्ति प्रक्रियाले पूर्णता पाउँछ’, प्रधानमन्त्री प्रचण्डले भनेका छन् ।

विधेयक सहमतिबाटै टुंग्याउने उनले बताएका छन् । ‘टीआरसीबारे सबै छलफल र तयारी गरेका छौं । संसदको उपसमितिबाट टुंगो लागेर समितिमा गएको छ’, उनले भनेका छन्, ‘सहमतिबाट नै यसलाई टुंगो लगाउन म प्रयासरत छु । विश्वास छ सबै दलको सहमतिबाट यो टुंगोमा पुग्छ ।’

सरकारका कामकारबाहीले गति लिन थालेको प्रधानमन्त्रीकाे दाबी छ । आफूले सरकारको कामले गति नलिए र मन्त्रालयले आफ्नो जिम्मेवारीलाई ठिक ढङ्गले पूरा नगरे मन्त्रीमण्डल पुनर्गठन हुनसक्छ भनेर आफूले मन्त्रीहरूलाई भनिसकेको बताए ।

‘याेजनाअनुसार काम हुन थालेकाे छ, हामी गति लिने कोसिसमा छौं,’ प्रधानमन्त्रीले भनेका छन् ।

ब्यूरोक्रेसीले आँट गरेमा समस्या समाधान हुने उनकाे भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट