काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सहकारी ठगी गरेर सरकारलाई तिर्न लगाउनु हाँस्यस्पद भएको बताएका छन् ।आइतबार चितवनको भरतपुरमा प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सहकारीको बचतलाई अन्य क्षेत्रमा लगाउन नमिल्ने बताउँदै यस्तो बताएका हुन् ।
“देश बनाउँछु भनेर आएका साथीहरूबाट यस्तो कुराहरू सुन्दाखेरी बडो हाँसो पनि लाग्यो, यो असाध्यै गैरजिम्मेवारी कुरा पनि हो, भोलि कसैले बैंक टाट पल्टाउँदै जाला त्यो सबै सरकारले बेहोर्न सक्छ ?,” रास्वपा सभापति लामिछानेप्रति लक्षित गर्दै ज्ञवालीले थपे, “व्यक्तिले गरेको बदमासीमा सरकारले पैसा तिर्नु भनेको योभन्दा हास्यस्पद के हुन्छ ?”
यस्तै, उनले सरकारीमा बचतकर्ताले जम्मा गरेको पैसा अन्त लगाउने कसैलाई छाड्न नहुने बताएका थिए । “सहकारीको रकमलाई अन्य क्षेत्रमा लगाउन मिल्दैन, तर विभिन्न ढंगले कोही घरजग्गा बनाउने, कोही टेलिभिजन खोल्ने, कोही केमा, कोही अनुत्पादन क्षेत्रमा लगाइएको देखियो,” उनले भने, “त्यो नागरिकको पैसा हो, केही मान्छेहरू बाटोमा कराउँदै हिँडेको देखिन्छ, बचतकर्ताको पैसा तिर्नु पर्दैन भनेका छन् ।”
शनिबार मात्रै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले चितवन पुगेर सहकारीका बचतकर्ताको पैसा सरकारले तिर्नु पर्ने बताएका थिए । यस क्रममा उनले बचतकर्ताको पैसा फिर्ता नहुँदासम्म आफू लड्ने दाबी गरेका थिए ।
सभापति लामिछानेले चितवनमा सहकारी पीडित तथा आफ्ना मतदातासँगको छलफलमा सहकारी खोल्न सरकारले लाइसेन्स दिने भएकाले सहकारीका सदस्यहरू मर्का पर्दा बेवास्ता गर्न नमिल्ने बताएका थिए ।
“मेरो दायित्व भनेको तपाईंहरूको बचत फिर्ता नभएसम्म लडाईं लड्ने हो, त्यही समाधान खोज्नु पर्छ भनेर देशैभरिका सहकारी पीडित मकै पोलेर, मजदुरी गरेर प्रत्येक दिन हामीलाई भेटेकाले हाम्रो पार्टीमा नै यसको समाधान गर्ने प्रतिवेदन बनाएका छौँ,” लामिछानेले भनेका थिए ।
यसअघि कास्कीको सूर्य दर्शनसहित देशका विभिन्न स्थानमा रहेका सहकारीको रकम गोरखा मिडिया नेटवर्कमार्फत ग्यालेक्सी टेलिभिजन खोल्न खर्च भएको समाचार बाहिरपछि सभापति लामिछाने मुछिएका थिए ।
यसपछि उनी आफ्नो मानहानी भएको भन्दै जिल्ला अदालत काठमाडौंमा उजुरी दिन पुगेका थिए । यसैबीच उनीविरुद्ध नै सहकारी विभागमा उजुरी परेको छ ।