काठमाडौंमा बढ्यो करदाता-Sutra News

काठमाडौंमा बढ्यो करदाता

आइतबार, ७ माघ २०८०

आइतबार, ७ माघ २०८०

काठमाडौं । पछिल्लो समय काठमाडौं महानगरमा करदाताको संख्या बढेको छ । गत आर्थिक वर्षमा तीन लाख २४ हजार १२० करदाता रहेकामा चालु आवमा तीन लाख ४३ हजार ३४० पुगेको कामपा राजस्व विभागका प्रमुख ध्रुव काफ्लेले जानकारी दिए ।



उनका अनुसार ३५ हजार ५७ बहाल करदाता, ३१ हजार ९१६ व्यवसाय करदाता र ५२ हजार ४८६ सम्पत्ति करदाता रहेका छन् । अन्य शीर्षकमा पनि करदाता बढेका छन् । यस वर्ष करदाताको संख्या तीन लाख ४३ हजार ३४० पुगेको छ ।

“गत आवको अन्त्यसम्ममा कर तिरेका करदाताको संख्यालाई चालु आवका लागि करदाताको संख्या मान्ने गरिएको छ”, काफ्लेले भने । उल्लेखित करदातामध्ये अहिलेसम्मा एक लाख ९१ हजार ८८६ कर तिर्नेको संख्या रहेको भन्दै एक लाख ३२ हजार २३४ कर नतिर्ने रहेका उनले जानकारी दिए ।

करदाता बढेपछि कामपामा उलेख्य रुपमा कर संकलन भएको छ । चालु आवको अर्ध वार्षिक अवधिमा करिब पाँच अर्ब राजस्व संकलन भएको काफ्लेको भनाइ थियो ।

कामपाको मेयर बालेन शाहले नेपालको संविधान २०७२ को अनुसूची ८ को क्रम संख्या ४, अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा ३ अनुसूची ३ र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ५७ को व्यवस्था बमोजिम बहाल कर संकलन गर्ने पालिकाको मात्र अधिकार रहेको उल्लेख गर्दै यसअघि संघ सरकारबाट संकलन हुँदै आएको यस शीर्षकको कर स्थानीय सरकारबाट उठाउने बताउँदै आएका छन् ।

कामपाले गत फागुन ३ मा ‘घरबहाल व्यवस्था निर्देशिका, २०७९’ जारी गरिसकेको छ । निर्देशिका अनुसार कुनै पनि घर धनीले घर भाडामा लगाउँदा वा घरखाली गराएको बारे सूचना सात दिनभित्र वडा कार्यलयमा दिनु पर्दछ । लिखित सम्झौताको एकप्रति सम्बन्धित वडा कार्यालय, एकप्रति घरधनी र अर्को एकप्रति भाडामा बस्नेले राख्नु पर्ने निर्देशिकामा व्यवस्था गरिएको छ ।

सम्पत्ति, घरबहाल, व्यवसाय, विज्ञापन, मनोरञ्जन, भूमि, मूल्य र अभिवृद्धिसहित ३६ शीर्षकमा कामपाले राजस्व असुल गर्दै आएको छ । निर्देशिका जारी भएसँगै करदाता बढेको कामपाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट