काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने एकपछि अर्को विवादमा फसिरहेका छन् । पछिल्लो अवस्थालाई त हेर्दा लाग्छ, लामिछाने विवादको ‘पर्याय’ बनेका छन् ।
लामिछानेविरुद्ध परेको राहदानी दुरुपयोगसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधिन अवस्थामा छन् । महान्यायाधिवक्ताको कार्यालयले सफाइ दिने निर्णय गरेकोमा सोविरुद्ध अदालतमा रिट परेको थियो ।
राहदानी दुरुपयोगसम्बन्धी मुद्दामा आइतबार नै अदालतमा पेशी थियो । उक्त रिटमाथिको सुनुवाइ आइतबार परेता पनि हेर्न नभ्याइनेमा प¥यो । अब अर्को मिति २०८१ जेष्ठ २९ गतेलाई पेशी परेको छ । अब योसँगै सहकारीको विषय पनि थपिएको हो । राहदानी मुद्दा विचाराधिन रहेकै बखत लामिछाने फेरि सहकारीको रकम हिनामिना प्रकरणले घेरिएका हुन् ।
लामिछाने मुछिएको सहकारी प्रकरणमाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान सुरु गरेको छ । अरबौं हिनामिना गरिएको यस प्रकरणमा मुद्दा अगाडि बढाउने प्रक्रिया सुरु हुँदैछ ।
सीआईबीले फाइल खोलिरहँदा सहकारी विभागमा पनि उनीविरुद्ध उजुरी दर्ता भएको छ । जसमा विभागले पनि बेग्लै रुपमा छानबिन थालिरहेको छ । विभागले उजुरीमा उल्लेख भएका तीन वटा सहकारीहरू प्रदेश र स्थानीय तहको क्षेत्राधिकारमा पर्ने भएका कारण सम्बन्धित प्रदेशहरूमा पठाइएको बताएको छ । साथै, आफ्नो ढंगले पनि छानबिनलाई अगाडि बढाएको छ ।
विभागका अधिकारीहरुका अनुसार ग्यालेक्सी टीभीको सन्दर्भलाई लिएर सहकारीको विषयमा कारबाही गरी पाऊँ भन्ने उजुरी परेको छ । उल्लेखित अभियोगमा लामिछाने फेरि अदालतको ढोकासम्म पुग्ने अवस्था निश्चित छ ।
विवादबाटै चर्चा
हुन त लामिछाने विवादित हुँदै चर्चामा आएका पात्र हुन् । पत्रकारितामै आबद्ध भइरहेको समयमा लामिछानेमाथि आत्महत्या दुरुत्साहनको आरोप लागेको थियो । उनकै सहकर्मी सालिकराम पुडासैनीले आत्महत्या गर्नुअघि लामिछानेविरुद्ध गम्भीर आरोप लगाएका थिए । उक्त आरोपमा मुद्दा चल्यो । तर, कारबाही भएन । लामिछाने धरौटीमा छुटे ।
विवादित उक्त मुद्दाले उनलाई घाटा होइन, नाफा दिलायो । सामान्य स्तरका मानिसमा लामिछानेलाई ‘फसाइएको’ भन्ने भाष्य सिर्जना भयो । जसको फाइदा उठाउँदै लामिछानले चितवनमा सार्वजनिक समारोह गरे । उनको पक्षमा ठूलो माहोल सिर्जना भएको देखियो ।
मिडियाको शक्ति बुझेका लामिछानेले उक्त घटनापछि आफैंले लगानी जुटाएर टेलिभिजन खोल्ने योजना बनाए । लगत्तै आफू एमडी हुने गरी गोरखा मिडिया नेटवर्कमार्फत ग्यालेक्सी टेलिभिजन सञ्चालनमा ल्याए ।
अहिले चुलिएको विषय पनि सोही टेलिभिजन सञ्चालनका क्रममा सहकारीको रकमलाई गरिएको दुरुपयोगको विषय हो । ग्यालेक्सी फोरके टिभीमा रहँदा भएको लगानीको विषय र सहकारीबाट रकम लिएको सम्बन्धमा लामिछाने आरोपित भएका हुन् । टेलिभिजनको सुरुवाती अवस्थामा लामिछानेले प्रबन्ध निर्देशकको जिम्मेवारीमा थिए ।
मुद्दा अगाडि बढेपछि सरकारविरुद्ध आक्रामक
अहिलेको गठबन्धन सरकारले लामिछानेलाई सहयोग नै गर्न खोजेको देखिन्छ । राहदानी दुरुपयोग प्रकरणमा चोख्याउन महान्यायाधिवक्तामार्फत उनलाई सफाई नै दिलाइएको थियो । तर, लामिछाने आफ्नै हर्कतले एकपछि अर्को विवादमा फसिरहेका छन् ।
सहकारी प्रकरण न सरकारले उचालेको विषय हो, न त सरकारले त्यसलाई अगाडि ल्याउन खोजेको छ । तर, पछिल्लो समय लामिछाने आबद्ध टेलिभिजनले नै हजारौंलाई उठिबास गराउने अवस्था भएपछि यो प्रकरण सतहमा आएको हो । जसमा पीडितहरु स्वयम् प्रहरी र अदालतको ढोकासम्म पुगेका छन् ।
यो प्रकरणमा लामिछानेका अभिव्यक्ति पनि विवादलाई मलजल गर्ने खालका छन् । प्रकरणका विषय बाहिर आउँदा सुरुवात उनले सहकारी नै नचिन्ने बताए । प्रमाणसहित विषय बाहिर आएपछि उनले सहकारीबाट ऋण लिन नहुने भन्ने थाहा नभएको बताए । अहिले उनी आफूलाई फसाउन सरकार लागेको बताउन थालेका छन् ।
गत पुस १६ गते बसेको प्रतिनिधि सभाको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा उनले गृहमन्त्री नारायणकाजी श्रेष्ठविरुद्ध आगो नै ओकले । लामिछानले आफूलाई फसाउन सहकारी प्रकरणलाई उचालिएको आरोप लगाए ।
गृहमन्त्रालयले राष्ट्रिय परिचयपत्र ठेक्का प्रक्रियामाथि पनि छानबिन समिति बनाएर छानबिन प्रक्रिया अगाडि बढाएको छ । बाहिर विवाद आइसकेपछि अगाडि बढाइएको उक्त विषयमा पनि लामिछाने आक्रामक बनेका छन् । तर, घटनाक्रमलाई हेर्दा, सरकार लामिछानेविरुद्ध लागेको भन्दा उनी आफैं स्वयम् समस्यापूर्णं बाटो खोज्दैछन् । समस्यालाई आफैं सिर्जना गर्दैछन् ।