कोदो खेती मासेर सुन्तला उत्पादन, एउटै वडाबाट ११ करोडको बिक्री-Sutra News

कोदो खेती मासेर सुन्तला उत्पादन, एउटै वडाबाट ११ करोडको बिक्री

मंगलबार, ९ माघ २०८०

मंगलबार, ९ माघ २०८०

स्याङ्जा । जिल्लाको भिरकोट नगरपालिका ७ मा यस वर्ष ११ करोड बढीको सुन्तला बिक्री भएको छ । बलमाटा, तिलाहार, जिमिरे, लोलुङ्गा, पाङसाङ, धोबादीलगायतका गाउँबाट सुन्तला उत्पादनका लागि परिचित छ ।



भिरकोट ७ का वडाध्यक्ष एवं सुन्तला सुपरजोन स्याङ्जाका सञ्चालक समिति अध्यक्ष ताराप्रसाद अर्यालले आफ्नो वडामा यस वर्ष सुन्तला बिक्रीबाट ११ करोड बढी भित्रिएको जानकारी दिए ।

करिब एक सय परिवारले व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आइरहेका उनको भनाइ थियो । “यस वडाका अधिकांश किसान व्यावसायिक रूपमा सुन्तला खेतीमा आबद्ध हुनुहुन्छ,” अध्यक्ष अर्यालले भने, “यहाँ यस वर्ष सबैभन्दा थोरैमा ५० हजारदेखि लिएर धेरैमा ३० लाखसम्म आम्दानी गर्नु भएको छ ।”

तिहारका बेलादेखि सुन्तला बजार पठाउन सुरु गरेर माघको दोस्रो सातासम्म सबै बिक्री गरिसक्ने अध्यक्ष अर्यालले जानकारी दिए । सुरुमा प्रतिकेजी ४० मा बिक्री गरेको सुन्तला अन्तिममा आइपुग्दा प्रतिकेजी ७० का दरले बिक्री भएको जनाइएको छ ।

“यहाँ उत्पादन भएका सुन्तला किसान आफैँले बिक्री गर्ने, बगैँचा नै ठेक्का दिने वा तौलेर अन्यत्र पठाउने गरिन्छ”, उनले भने, “विशेष गरी यहाँका सुन्तला काठमाडौँ, पोखरा, नारायणगढ, बुटवलजस्ता सहरमा जाने गरेको छ ।”

स्थानीय व्यापारी तथा काठमाडौँबाट आएका व्यापारीले बगैँचा नै ठेक्का लिएर बिक्री गर्ने गरेका छन् । कतिपय किसानले चिनजान र फोन सम्पर्कका आधारमा गाडीबाट व्यापारीकहाँ पठाइदिने गरेका छन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला सुपरजोन र भिरकोट नगरपालिकाको ७५ प्रतिशत अनुदानमा बिरुवा, सिँचाइ ट्यांकी, पाइप वितरण गरिएको अध्यक्ष अर्यालले बताए ।

कोदो खेती गर्दै आएका बारीमा अहिले सुन्तलाका बोट देख्न सकिन्छ । सुन्तला खेतीबाट आम्दानी लिन सकिने भएपछि यहाँका स्थानीय सुन्तला खेतीतर्फ आकर्षित हुँदै गएका छन् ।

गत वर्ष स्याङ्जामा सुन्तला बिक्रीबाट एक अर्ब २५ करोड भित्रिएको थियो भने यस वर्ष उत्पादन कम भएसँगै आम्दानी घट्ने अनुमान कृषि ज्ञान केन्द्र स्याङ्जाले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट