काठमाडौं । शेयर बजार फेरि सुस्ताउन थालेको छ । लगातारको गिरावटका बीच बजारमा लगानीकर्ता निराश देखिएका छन् ।
बजार लगातार ६ कारोबार दिनदेखि ओरालोमा छ । बुधबार पनि बजारमा दोहोरो अंकको गिरावट आयो । बुधबारको कारोबारसँगै १०.२५ अंकले घट्दै बजार २,०८८.०४ को बिन्दुमा ओर्लिएको छ ।
पछिल्लो ६ कारोबार दिनको बीचमा बजारमा ८७.१३ अंकले गिरावट आएको छ । अघिल्लो मंगलबार बजार २१७५.१७ अंकमा पुगेको थियो । त्यसयता लगातार गिरावट आइरहेको छ ।
लगानीकर्ता निराश हुँदा कारोबार रकम घट्यो
बजार लगातार घटिरहँदा लगानीकर्ता निराश देखिएका छन् । जसको प्रभाव कारोबार रकममा परेको छ ।
दैनिक कारोबार नै १० अर्ब नजिक पुगेको बजारमा कारोबार रकम निकै सुस्ताएको छ । बुधबार बजारमा कारोबार रकम जम्मा तीन अर्ब ८९ करोड ७० लाख २२ हजार रह्यो । एक करोड १० लाख ४९ हजार ९४९ कित्ता शेयर किनबेच हुँदा सो कारोबार भएको थियो ।
किन्नेभन्दा बेच्ने धेरै
पछिल्लो समय बजार सुस्ताउँदा किन्नेभन्दा बेच्ने धेरै देखिन थालेका छन् । बुधबार अधिकांश उच्च कारोबार भएका कम्पनीको खरिद गर्नेभन्दा बिक्री गर्नेको संख्या धेरै देखिएको थियो ।
जसमा हालै दोस्रो बजारमा कारोबारमा आएको हिमालयन रि इन्स्योरेन्सको कारोबार उच्च भएको छ । बुधबार तीन लाख ७९ हजार ८३३ कित्ता शेयर किनबेच हुँदा हिमालयनको मात्रै कारोबार रकम २५ करोड १५ लाख ६८ हजार रुपैयाँ पुगेको थियो ।