काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले राष्ट्रिय सभा सदस्यको निर्वाचनकाे मतदान बहिष्कार गरेका छन् । राष्ट्रियसभा चुनावअन्तर्गत बागमतीको हेटौंडामा जारी मतदानमा बालेन सहभागि छैनन् ।
काठमाडाैं महानगरकी उपप्रमुख सनिता डंगोल भने मतदानका लागि हेटौंडा पुगिसकेकी छन् ।
बालेनले व्यस्तताकाे कारण देखाउँदै मतदान बहिस्कार गरेका छन् । बालेनका प्रमुख स्वकीय सचिव भूपदेव शाहले कार्य व्यस्तताको कारण मतदान गर्न नगएकाे प्रतिक्रिया दिएका छन् ।
‘कार्य-व्यस्तताका कारण उहाँ (बालेन्द्र ) मतदानमा जान नभ्याउने हुनुभएको हो’, उनले भनेका छन् ।
मेयर बालेनले यसअघि पनि मंसिर ४ गते भएको प्रदेशसभा चुनावलाई पनि बहिस्कार गरेका थिए ।
राष्ट्रियसभा निर्वाचनमा बागमती प्रदेशबाट रिक्त ४ सिटका ६ दलका १५ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
जसमा सत्ता गठबन्धनबाट महिलातर्फ कांग्रेसका विष्णुदेवी पौडेल र अन्यतर्फ जीतजंग बस्नेत उम्मेदवार छन् भने अपाङ्गतातर्फ माओवादीका श्रीकृष्णप्रसाद अधिकारी र दलिततर्फ एकीकृत समाजवादीका घनश्याम रिजाल भिड्दै छन् ।
यता, एमालेले महिलातर्फ रोचकुमारी चौलागाईं, दलिततर्फ ध्रुवराज विक, अपाङ्गतातर्फ त्रिलोचन निर्मल पौडेल र अन्यतर्फ विवेक देवकोटालाई उम्मेदवार बनाएको छ ।
यस्तै, निर्वाचनमा राप्रपाबाटे महिलातर्फ बालिका डल्लाकोटी, अन्यतर्फ हेमजङ्ग गुरुङ र अपाङ्गतर्फ भरतमणि भट्टको उम्मेदवारी परेको छ भने नेमकिपाले महिलातर्फ कृष्णलक्ष्मी दुवाल, दलिततर्फ सङ्गीता नेपाली, अपाङ्गतातर्फ हिमालयश्वर मूल र अन्यतर्फ श्रीकृष्ण महर्जन उम्मेदवार बनाएको छ ।