माघ १३ गतेदेखि समुदायमा कांग्रेस अभियान सुरु गरिने-Sutra News

माघ १३ गतेदेखि समुदायमा कांग्रेस अभियान सुरु गरिने

बिहिबार, ११ माघ २०८०

बिहिबार, ११ माघ २०८०

काठमाडौं । नेपाली कांग्रेस चितवनले माघ १३ गतेदेखि समुदायमा कांग्रेस अभियान सञ्चालन गर्ने भएको छ । कांग्रेसको केन्द्रीय निर्णयानुसार चितवनमा ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गर्न लागिएको हो ।



माघ १३ देखि २६ गतेसम्म कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गर्न लागिएको कांग्रेस चितवनका सभापति राजेश्वर खनालले जानकारी दिए ।

जिल्लामा तोकिएका केन्द्रीय प्रतिनिधि डा. गोविन्दप्रसाद पोख्रेलको उपस्थितिमा जिल्ला कार्य समितिको विस्तारित बैठक बसी ‘समुदायमा कांग्रेस’ अभियानको प्रारुप तयार गरिने खनालले बताए ।

अभियानलाई सार्थक रूपमा सफल पार्न जिल्लास्थित पालिकाको प्रत्येक वडामा नेपाली कांग्रेसका महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, जिल्ला पदाधिकारी र प्रत्यासी तथा जिल्ला स्तरका वर्तमान एवं पूर्व नेतृत्वलाई वडा प्रतिनिधिका रूपमा खटाइने उनले जानकारी दिए ।

यस अभियानअन्तर्गत चितवनका सात पालिकाका ९८ वटै वडामा खुला छलफल तथा बहस कार्यक्रम राखी नागरिकको गुनासो सुन्ने र सुझाव संकलन गरिने छ । अभियानकै क्रममा विकास निर्माण आयोजना, विद्यालय, स्वास्थ्य चौकी, वडा कार्यालयलगायत जनसरोकारका कामकारबाहीको अवलोकन गरिने छ ।

कांग्रेसलाई जनतासँग जोड्ने एवं पार्टी र जनप्रतिनिधिबीच समन्वय र सहजीकरणका लागि पार्टीका वडा सभापतिलगायत तीन जना निर्वाचित वडाध्यक्ष वा अध्यक्षको उम्मेदवारलगायत तीन र पार्टीका शुभेच्छुक दुई गरी आठ जनाको संयन्त्र निर्माण गरिने खनालले बताए । यस अभियानबाट प्राप्त सुझावका आधारमा पार्टीको आगामी रणनीति र कार्य योजनासमेत तय गरिने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट