राष्ट्रियसभा निर्वाचन : यी हुन् विजयी भएका उम्मेदवार (सूचीसहित)-Sutra News

राष्ट्रियसभा निर्वाचन : यी हुन् विजयी भएका उम्मेदवार (सूचीसहित)

बिहिबार, ११ माघ २०८०

बिहिबार, ११ माघ २०८०

काठमाडौं । राष्ट्रियसभा निर्वाचनको १९ पदका लागि बिहीबार सम्पन्न चुनावमा सत्ता गठबन्धनले १८ ठाउँमा जित हात पारेको छ । एक स्थानमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।



कोशी प्रदेशमा एमालेकी रुक्मिणी कोइराल महिला क्लस्टरबाट विजयी हुँदा गठबन्धनकी चम्पा कार्की पराजित बनिन् । कोइरालाले पाँच हजार ८६ मतभार पाएकी थिइन् । उनकी प्रतिद्वन्द्वी कार्कीले चार हजार ९९२ मतभार पाइन् ।

यसबाहेक पुरुषतर्फ कांग्रेसका कृष्ण सिटौलाले पाँच हजार २९२ मतभार पाउँदा उनका प्रतिस्पर्धी उद्धव पौडेलले चार हजार ५६२ मतभर पाए ।

यस्तै, मधेस प्रदेशको दुई पदका लागि भएको निर्वाचनमा अन्य क्लस्टरबाट कांग्रेसका आनन्द ढुंगाना र महिलातर्फ जनता समाजवादी पार्टी (जसपा)की पूजा चौधरी विजयी भए । ढुंगानाले सात हजार ३७० मतभार पाए भने चौधरीले सात हजार ९२३ मतभार पाइन्

बागमती प्रदेशमा पनि सबै गठबन्धन उम्मेदवारहरू विजयी भए । चुनावमा महिलातर्फ नेपाली कांग्रेसका विष्णुदेवी पुडासैनीले ६ हजार ६२२ मतभार ल्याउँदै विजयी भइन् । उनले एमालेकी रोचकुमारी चौलागाईंलाई पराजित गरेकी हुन् ।

दलिततर्फ एकीकृत समाजवादीका घनश्याम रिजाल विश्वकर्माले ६ हजार ५१२ मतभार पाए । उनले एमालेका उम्मेदवार ध्रुवराज विश्वकर्मालाई पराजित गरेका हुन् ।

अन्यतर्फ नेपाली कांग्रेसका उम्मेदवार जीतजंग बस्नेत विजयी हुँदा एमालेका त्रिलोचन निर्मल पौडेल पराजित बने । बस्नेत ६ हजार ५३१ मतभार पाउँदै विजयी भएका हुन् । अल्प संख्यक तथा अपांगतातर्फ माओवादी केन्द्रका श्रीकृष्ण अधिकारी निर्वाचित भए । उनले एमालेका उम्मेदवारलाई पराजित गरेका हुन् ।

गण्डकी प्रदेशमा सबै सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भए । जसमा कांग्रेसबाट अन्यतर्फ किरणबाबु श्रेष्ठ, अपांगता तथा अल्पसंख्यकतर्फ पदमबहादुर परियार र माओवादीबाट मनरुपा शर्मा निर्वाचित भएका हुन् । श्रेष्ठले तीन हजार ८०८, परियारले तीन हजार ७७९ र शर्माले तीन हजार ६६० मतभार ल्याउँदै एमालेका उम्मेदवारलाई पराजित गरेका हुन् ।

लुम्बिनीमा दुई पदका लागि भएको निर्वाचनमा महिलातर्फ कांग्रेसकी विष्णुकुमारी सापकोटा र अन्य कलस्टरबाट माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी विजयी भए । सापकोटाले पाँच हजार ४३५ मत भार पाउँदा सुवेदीले पाँच हजार ४३५ मतभार पाए । उनीहरूले एमालेका उम्मेदवार तुलसा केसी र झपेन्द्र बहादुर जिसीलाई पराजित गरेका हुन् ।

कर्णाली प्रदेशमा पनि सत्ता गठबन्धनका उम्मेदवारहरू विजयी भए । तीन पदका लागि भएको निर्वाचनमा एमालेका उम्मेदवारहरू पराजित भए ।

कर्णालीमा अन्यतर्फ कांग्रेसका कृष्णबहादुर रोकाया, महिलातर्फ एकीकृत समाजवादीका सावित्री मल्ल र दलिततर्फ माओवादी केन्द्रका विष्णु विक विजयी भएका हुन् ।

सुदूरपश्चिममा सत्ता गठबन्धनबाट सबै उम्मेदवार विजयी भए । जसमा महिलातर्फ माओवादीकी रेनु चन्दले चार हजार ४५३ मतभार ल्याउँदै विजयी भइन् । अपाङ्गतर्फ कांग्रेसका नारायणदत्त भट्टले चार हजार ४१९ मतभार पाए । अन्यतर्फ कांग्रेसकै बलदेव बोहराले चार हजार ३४७ मत ल्याउँदै विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट