काठमाडाैं । राष्ट्रियसभा सदस्यको निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट महिला सदस्यमा उम्मेदवारी दिएकी माओवादी केन्द्रकी चम्पा कार्की पराजित भएर प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)की उम्मेदवार रुक्मिणी कोइराला निर्वाचित भएपछि त्यसको असर केन्द्रमा पनि पर्ने प्रष्ट संकेत देखिएको छ । कांग्रेसबाट पटक–पटक आफूहरूलाई धोका मात्रै भएको भन्दै माओवादीको सिंगो कोशी प्रदेश कमिटी कांग्रेससँग रुष्ट बनेको छ ।
राष्ट्रियसभा सदस्यको निर्वाचनमा माओवादी केन्द्रकी कार्की पराजित हुनुमा नेपाली कांग्रेसको संस्थापन इतर शेखर कोइराला समूहले भूमिका खेलेको माओवादी केन्द्रका नेताहरूको आरोप छ । माओवादी केन्द्रका कोशी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङले त अब कांग्रेससँग विश्वासको वातावरण शून्य भएको भन्दै कोशीमा कांग्रेससँंगको सहकार्य तोड्ने चेतावनी समेत दिएका छन् । तर, माओवादीभित्र एकछत्र प्रभाव राख्ने पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ग्रिन सिंग्नल नभएसम्म कोशी प्रदेशले कुनै त्यस्तो निर्णय भने गरिहाल्ने परिस्थिति भने माओवादीभित्र छैन ।
बिहीबार राष्ट्रियसभाको निर्वाचन सकिए लगत्तै शुक्रबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेला भएका माओवादी केन्द्रका नेताहरूले कोशी अन्तरघातको बदला लिन पनि राष्ट्रियसभा अध्यक्ष कांग्रेसलाई दिन नहुने लविङ थालेका छन् । प्रधानमन्त्री प्रचण्डले पनि माओवादीलाई कोशी प्रदेशमा गम्भीर धोका भएको भन्दै राष्ट्रियसभा अध्यक्षको पद दिने वा नदिनेबारे एकपटक गम्भीर समिक्षा गर्नुपर्ने निष्कर्षमा पुगेको प्रधानमन्त्रीसँगको छलफलमा सहभागी एक माओवादी नेताले जानकारी दिए ।
तर, राष्ट्रियसभाको उम्मेदवार चयनकै क्रममा कोशी प्रदेशको अन्य समूहबाट उम्मेदवारी दिएर विजयी बनेका नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्ण सिटौलालाई राष्ट्रियसभाको अध्यक्ष बनाउने सहमति भैसकेको बताइन्छ । यस्तोमा सिटौलालाई राष्ट्रियसभाको अध्यक्ष बन्न रोक्दा सत्ता गठबन्धन नै धरापमा पर्ने हुनाले प्रचण्डले त्यो जोखिम लिन्छन् नै भनेर अहिल्यै भन्न नसकिने जानकारहरूको मत छ ।
कोशीको पछिल्लो राजनीतिक घटनालाई लिएर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि निकै रुष्ट रहेको बुझिएको छ । नेपाली कांग्रेसको शेखर समूहका केदार कार्कीलाई मुख्यमन्त्री बन्दा एमालेले लगाएको गुण शेखर समूहले अहिले तिरेको भन्दै गरिरहँदा कांग्रेस संस्थापन समूह शेखर समूहसँग असन्तुष्ट बनेको हाे ।
तर, गोप्य मतदानमा कस्ले कसलाई मत हाल्यो भन्ने कुरा गोप्य रहने हुनाले अन्तरघातकै कारण कसैलाई औंला ठड्याउन सकिए पनि पुष्टि गर्न नसकिने हुनाले कांग्रेसले चाहेर पनि कुनै स्टेप चाल्न नसक्ने जानकारहरू बताउँछन् ।
राष्ट्रियसभा निर्वाचनको नतिजा आए लगत्तै कांग्रेस सभापति देउवाले आफू निकट नेताहरूसँग अनौपचारिक छलफल गर्दै शेखर समूहको अराजकताले हद नाघेको भन्दै असन्तुष्टि व्यक्त गरेपनि अब के गर्ने भन्ने निष्कर्ष निकाली नसकेको देउवानिकट स्रोतको दाबी छ । यस्तोमा राष्ट्रियसभा सदस्य निर्वाचनलाई लिएर प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति देउवा र इतर समूहका नेता शेखर कोइरालासँग छुट्टाछुट्टै छलफल गर्ने तयारी अगाडि बढाएको बालुवाटार निकट स्रोतले जनाएको छ ।
तत्काललाई कोशी प्रदेशको अन्तर्घातले राष्ट्रिय राजनीतिमा ठ्याक्कै कस्तो असर पार्छ भनेर प्रष्ट नभएपनि सत्ता गठबन्धनमा दरार पैदा भएको र यसको असर बिस्तारै सतहमा पनि देखिँदै जाने जानकारहरू बताउँछन् ।