काठमाडौं । राष्ट्रियसभाको निर्वाचनअन्तर्गत कोशीमा गठबन्धनको साझा उम्मेदवार माओवादी केन्द्रकी चम्पादेवी कार्कीलाई हराउँदै एमाले–राप्रपा गठबन्धनको तर्फबाट एमालेकी रुक्मिणी कोइरालाले जित निकालेपछि गठबन्धनभित्र असन्तुष्टि जुलिएको छ । गठबन्धनभित्रबाटै आफ्ना उम्मेदवारलाई मत नआएपछि माओवादी केन्द्र असन्तुष्ट बनेको छ ।
कोशीमा कांग्रेसले घात गरेको भन्दै माओवादी नेताहरुले असन्तुष्टि पोखिरहेका बेला प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवालाई फोन गर्दै असन्तुष्टि पोखेका छन् । उनले यस घटनालाई गम्भीररुपमा लिएको बताएका छन् ।
बालुवाटार स्रोतले बताएअनुसार प्रचण्डले गम्भीर समीक्षाको खाँचो पनि देउवासमक्ष राखेका छन् । “हामी मात्रै कति इमानदार हुने, सधैँ हामीमाथि घात भइरहने ?”, प्रचण्डको भनाई उद्र्धत गर्दै स्रोतले भनेको छ ।
टेलिफोन संवादमा देउवाले पार्टीभित्र छलफल गर्ने बताएका छन् ।
कोशी घटनापछि माओवादी केन्द्रभित्र गठबन्धनलाई लिएर तिव्र असन्तुष्टि चुलिएको छ । नेताहरुले शुक्रबार बिहान पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डलाई भेटेर कांग्रेससँगको सहकार्यमाथि समीक्षा गर्न आग्रह गरेका छन् ।
साथै, नेताहरुले राष्ट्रियसभाको अध्यक्ष कांग्रेस दिन नहुने सुझाब दिएका छन् । कांग्रेसबाट लगातार धोका भइरहेको सन्दर्भमा कांग्रेसलाई सघाउन नहुने सुझाब नेताहरुको छ ।
नेताहरुसँगको भेटमा अध्यक्ष प्रचण्डले बैठक नै बसालेर निर्णय लिने बताएको नेताहरुले बताएका छन् ।
सम्बन्धित समाचार