काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जनतामा छाएको निराशा चिर्न र स्थानीय स्तरका गुनासा सुन्न पार्टीले संवाद यात्राको सुरुवात गरेको बताएका छन् ।
महामन्त्री थापाले शनिबार बिहान भद्रपुरस्थित मेची पुल नजिकै आयोजना गरिएको यात्रा शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली समाजलाई निराशाबाट बाहिर निकाल्ने प्रयास स्वरुप यात्रा आरम्भ गरेको बताए ।
महामन्त्री थापाले यो यात्रा आफ्नो व्यक्तिगत नभएर पार्टीको समुदायसँग जोड्ने अभियान भएको स्पष्ट पारे । उनले आफूहरु भुँइमान्छेको प्रतिनिधि भएको उल्लेख गर्दै पार्टी प्रतिको गुनासो सुन्न र आम समुदायको समस्या बुझ्ने यात्राको उद्देश्य रहेको बताए ।
“जनतामा निराश छ, त्यही निराशामा कसैले व्यापार गर्ने र कसैले फाइदासहित लाभ लिने गर्नु भएको छ”, उनले भने, “तर, नेपाली कांग्रेसले समाज परिवर्तनसहित निराशामुक्त बनाउनु छ ।”
महामन्त्री थापाले यात्रा आरम्भ गर्नुअघि मेची क्याम्पस परिसरमा रहेको सहिद राम थापाको शालिकमा माल्यार्पण गर्नुका साथै क्याम्पसका शिक्षक, विद्यार्थीको समस्या बुझ्ने काम, प्रादेशिक अस्पताल भद्रपुरको नयाँ भवनको अवलोकन गरिएको बताए ।