साताभर ओरालो लागेको शेयर अब के होला ? २२ सय पुग्ला कि १८ सयमा फर्किएला ?-Sutra News

साताभर ओरालो लागेको शेयर अब के होला ? २२ सय पुग्ला कि १८ सयमा फर्किएला ?

शनिबार, १३ माघ २०८०

शनिबार, १३ माघ २०८०

काठमाडौं । यो साता शेयर बजार समग्रमा ७१.७३ अंकले घट्यो । साताको पहिलो कारोबार दिन आइतबार र दोस्रो कारोबार दिन उच्च अंकले घटेको नेप्सेको घट्ने क्रममा मंगलबारदेखि सुस्तए पनि हप्ताभर नेप्से राताम्मे रह्यो ।



यो साताको पहिलो कारोबार दिन आइतबार २५.६३ अंकले घटेको नेप्से सोमबार ३१.४९ अंकले घटेको थियो । शेयर बजार मंगलबार ०.४०, बुधबार १०.२५ र बिहीबार ३.९४ अंकले नकारात्मक रह्यो ।

बजार घट्ने क्रमसँगै कारोबार रकम पनि घट्यो । कारोबारको पहिलो दिन आइतबार सात अर्ब ६७ करोड, सोमबार ६ अर्ब ३६ करोड, मंगलबार चार अर्ब २९ करोड, बुधबार तीन अर्ब ८९ करोड र बिहीबार तीन अर्ब ७६ करोडमा कारोबार रकम खुम्चियो ।

समग्रमा कारोबार बजार घटेसँगै कारोबार रकम घट्नुले लगानीकर्ता तल्लो मूल्यमा शेयर बेच्न अनिच्छुक भएको तथा किन्नेहरू अझै सस्तोमा पाइन्छ कि भनेर पर्खेको अवस्था हो ।

बैंकको ब्याजदर घट्दो क्रममा रहनु, तरलताको स्थिति सहज बन्दै जानु तथा अर्थतन्त्रका बाह्य सूचक सकारात्मक हुँदै गएकाले शेयर बजारले आगामी साता सकारात्मक लय समात्ने लगानीकर्ताको विश्वास छ ।

१८ सयको तल्लो बिन्दुलाई पटकपटक परीक्षण गरेर उकालो लागेको नेप्से बैंक तथा वित्तीय संस्थाको दोस्रो त्रैमासिकको वित्तीय विवरण सार्वजनिक नहुँदासम्म सकारात्मक लयमा अगाडि बढ्दै इन्ट्रा डे कारोबारको क्रममा २२ सयको मनोवैज्ञानिक बिन्दुलाई क्रस गरेर अगाडि बढ्न खोजेको थियो ।

बैंक तथा वित्तीय संस्थाको रिपोर्ट कमजोर आएपछि बजार पुनः २२ सयको मनोवैज्ञानिक रेखाबाट ओरालो यात्रामा निस्किएको हो । दुई वर्षभन्दा लामो समयदेखि बियरिस यात्रामा रहेको शेयर बजारले १८ सयको न्युनतम बिन्दुलाई परीक्षण गरेर उकालो यात्रामा निस्किए पनि २२ सयको बिन्दुमाथि सस्टेन हुन असफल भएको देखिन्छ ।

विगतमा पटकपटक २२ सयको आसपास पुगेपछि ओरालो लागेको बजारको मनोविज्ञानले घट्दो ब्याजदर, सहज तरलता अवस्था भए पनि बजारले २२ सयको प्रतिरोध तोड्न असफल भइरहेको छ ।

यो साताको सबै कारोबार दिन बजार नकारात्मक लयमा रहे पनि साताको अन्तिमतिर गिरावट दर सम्हालिएको छ । आइतबार र सोमबारको दुई कारोबार दिनमै ५७ अंकले घटेको बजार त्यसपछिका तीन कारोबार दिनमा जम्मा १४ अंक मात्रै घटेकाले आगामी साता बजारले सकारात्मक लय लिन सक्ने सम्भावना रहेको जानकारहरूको भनाइ छ ।

यो साता नेप्सेमा सूचीकृत १३ वटा उपसमूहमध्ये होटल तथा पर्यटन उपसमूह सकारात्मक बन्दा अन्य १२ वटा उपसमूह भने घटेका छन् । यो साता नेप्से र कारोबार रकम घट्दा पनि होटल तथा पर्यटन उपसमूह भने ६६.७९ अंकले बढेको छ ।

यस्तै अन्य ११ उपसमूहमा यो साता सबैभन्दा उच्च गिरावट देखियो भने निर्जिवन उपसमूह २३५.०८ अंकले घटेको छ भने लाइफ इन्स्योरेन्स उपसमूह ३१७.३५, उत्पादन तथा प्रशोधन १८६.९५, डेभलपमेन्ट बैंकको उपसमूह २०६.३५, माइक्रोफाइनान्स १५८.४७, ट्रेडिङ ३०.९३, हाइड्रोपावर १०९.९९ अंक, फाइनान्स ४४ अंक, अन्य उपसमूह ४१.६३, बैंकिङ उपसमूह ४३.९७, इन्भेस्टमेन्ट उपसमूह ४.६९ र म्युचुअल फण्ड उपसमूह ०.४ अंकले नकारात्मक बनेको छ ।

यो साताभर नेप्सेमा भर्खरै सूचीकृत भएको हिमालयन रि इन्स्योरेन्सको शेयर सर्वाधिक कारोबार भएको छ । यो साता हिमालयन रि इन्स्योरेन्सको दुई अर्ब ४४ करोडको शेयर किनबेच भएको छ ।

त्यसैगरी ङादी हाइड्रोपावरको ९३ करोड १० लाख, अपी पावर कम्पनीको ८३ करोड, एनआरएनए इन्फ्रास्ट्रक्चर डेभलपमेन्टको ५२ करोड ५१ लाख, अरुण कावेलीको ६१ करोड ७७ लाख र सोनापुरको ५९ करोड बढीको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट