काठमाडौं । संघीय संसद्का सभामुख देवराज घिमिरेले श्रमको मूल्य र महत्व पहिचानको अभाव भइरहेको बताएका छन् ।
मकवानपुरको भीमफेदी गाउँपालिकाले आयोजना गरेको अनौपचारिक क्षेत्रका श्रमिकको सामाजिक सुरक्षा योजनाको शुभारम्भ कार्यक्रममा उनले श्रमको उचित मूल्य र महत्व पहिचान गरी सामाजिक सुरक्षा कोषमा आबद्ध गराउनु पर्ने बताएका हुन् ।
उनले श्रमिकको सामाजिक उत्थान गराउन कोषमा आबद्ध गराउन तीनै तहका सरकारले पहलकदमी लिनु पर्ने बताए । कोषमा हालसम्म ५१ अर्ब २९ करोड संकलन भएको उनको भनाइ थियो ।
सभामुखका अनुसार राज्यले कमजोर नागरिकलाई आर्थिक सहायता दिन र सामाजिक सुरक्षा प्रदान गर्न उक्त योजना ल्याएको हो । कोषले श्रमिकको जीवनलाई सार्थक बनाउन र आवश्यक सेवा सुविधा उपलब्ध गराउन फलदायी रहेको उनले बताए ।
संघीयतालाई सही ढंगबाट कार्यान्वयन गर्न सकेको खण्डमा मुलुकको समृद्धि सम्भव रहेको र संघीयता कार्यान्वयनको चरणमा तीनै तहका सरकार गम्भीर भएर अघि बढ्नु पर्ने उल्लेख गरे । उनले नागरिकको हकअधिकार र सेवा प्रवाहका विषयमा सही ढंगबाट काम गर्न कुनै पनि कानूनले बाधा नपर्ने बताए । सही नियतले प्रभावकारी योजना बनाएर कार्यान्वयनका अघि बढ्न आग्रह गरे ।
सभामुख घिमिरेले सामाजिक सुरक्षा कोषका विषयमा श्रमिक र रोजगारदाता संस्थाहरु जानकारी गराएर आबद्ध गराउनु पर्नेमा जोड दिए । राज्यले लिएको नीतिलाई कार्यान्वयनको पहल गरेको भन्दै उनले भीमफेदी गाउँपालिकाको प्रशंसा गरे ।