काठमाडौं । बहुमतका आधारमा प्रदेश संसदीय दलको नेता फेरिएपछि नेकपा (माओवादी केन्द्र)को सुदूरपश्चिमभित्र रडाको मच्चिएको छ । संसदीय दलभित्रको उक्त खेलले ठूलो विभाजन र असन्तुष्टि सिर्जना गरेको छ ।
दलको निर्णयले विवाद जन्माएपछि प्रदेश पार्टी कमिटीले उक्त निर्णय सच्याउन निर्देशन गरेको छ । शनिबार बसेको प्रदेश पार्टी पदाधिकारी बैठकले निर्णय सच्याउन निर्देशन गरेको हो ।
बैठकले यसअघिका प्रदेश संसदीय दलका नेता खगराज भट्टलाई जानकारी बिना नै उपनेता अक्कलबहादुर रावलको अध्यक्षतामा बैठक बस्दै नेता परिवर्तनको निर्णय गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको प्रदेश पार्टी कमिटीले जनाएको छ ।
“यहि माघ १२ गते माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक दल नेता खगराज भट्टको जानकारीबिना उपनेता कमरेड अक्कलबहादुर रावलको अध्यक्षता बसी दलनेता परिर्वतन र सरकार परिर्वतन गर्ने भन्ने कुराप्रति पदाधिकारीहरुको गम्भीर ध्यानाकर्षण भएको छ”, परिपत्रमा भनिएको छ, “हाम्रो पार्टी परम्परा, विधिविपरीत केन्द्रीय निर्देशनको समेत अवज्ञा गरी गरिएको निर्णयले पार्टीमा अराजकता र स्वेच्छाचारीताले संस्थागत मान्यता पाउने खतरा हुने भएकोले संसदीय दलको यो निर्णय पार्टीका हजारौं कार्यकर्ताको मनोभावना विपरीतको भएकोले अविलम्ब सच्याउन संसदीय दललाई निर्देशन दिने निर्णय गरियो ।”
शुक्रवार खगराज भट्टकाे उपस्थिति बिना नै बसेको माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले उनलाई हटाएर मानबहादुर धामीलाई दलको नेता बनाउने निर्णय गरेको थियो ।