काठमाडाैं । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालको राष्ट्रियता गम्भिर अवस्थामा पुगेको बताएका थिए । अध्यक्ष लिङ्देनले आफ्नै पार्टीकी नेतृ एवम् अभिनेत्री रेखा थापाप्रति व्यङ्ग्य गर्दै नेपालको अवस्था कस्तो रहेछ भन्ने देखिएकाे टिप्पणी गरेका थिए ।
उनले एउटी महिलाले यस धर्तीमा आफ्नो सन्तान जन्माउन नचाहने अवस्था आएको बताएका थिए । ‘अस्ती भर्खर एक जना चर्चित कलाकारले ‘बेबी प्लान’ भनेर पोस्ट गर्नु भो र अमेरिका भनेर लेख्नु भो, नानी जन्माउन अमेरिका पुग्नु भो’ अध्यक्ष लिङ्देनले भने, ‘यसको मतलव भनेको जीवनमा एउटी महिलाले पहिलोचोटी प्राप्त गर्ने सन्तान यो धर्तीमा जन्माउन चाहँदैनन् भने यो देशको अवस्था र राष्ट्रियताको अवस्था के हुन सक्छ ?’
उसो त लिङ्देनको प्रश्न पनि जायज नै देखिएको थियो । जसलाई हामी सार्वजनिक व्यक्तिकाे रूपमा लिन्छाै उनिहरुको कार्यलाई फलो गर्छाैं, त्यहि व्यक्तिले आफ्नै राष्ट्रमा बच्चा जन्माउन नखोज्नु आफैंमा आपत्तिको कुरा हो । तर रेखाका श्रीमान् अमेरिका बस्दै आएका नेपाली मुलका अमेरिकी हुन् ।
उनको सपरिवार त्यहाँ भएकाले आफू पनि त्यहिँ जान बाध्य भएको रेखाले स्पष्टीकरण दिँदै आएकी थिइन । लिङ्देनले व्यंग्यात्मक शैलीमा प्रश्न उठाएपछि थापाले पनि मुखभरीको जवाफ दिएकी छिन् ।
लिङ्देनकाे अभिव्यक्तिपछि सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै जवाफ फर्काएकी हुन् । उनले देशको माया हुनेले आफ्नो सन्तान नेपाल फिर्ता बोलाए हुन्थ्याे नि, अमेरिकामा किन राखेको ? भन्दै उल्टै प्रश्न गरेकी छिन् ।
‘देशको माया हुनेले आफ्नो सन्तान नेपाल फिर्ता बोलाए हुन्थ्याे ! अमेरिकामा किन राखेको ?’, थापाले लिङ्देनलाई प्रश्न गरेकी छिन् ।
उसाे त स्वयम् लिङ्देनकी छोरी अमेरिकामा बस्दै आएकी छिन् । उनी छाेरीलाई भेट्नकै निम्ति भन्दै अमेरिका जाने गरेका छन् ।
तर, यस्ताेमा लिङ्देनले आफूमाथि सार्वजनिक प्रश्न उठाएपछि थापा भड्कीएकी हुन् । दुईबीचकाे दाेहाेरी सामाजिक सञ्जालमा अहिले निकै भाइरल बनिरहेकाे छ ।