काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई पराजित गरेको छ ।
कीर्तिपुरस्थित टीयु क्रिकेट मैदानमा आइतबार भएको खेलमा आर्मीले कर्णालीलाई १६४ रनले पराजित गरेको हो । आर्मीले दिएको २८० रनको लक्ष्य पछ्याएको कर्णाली प्रदेश २९ ओभर खेल्दा ११५ रनमा समेटियो ।
आर्मीका लागि कुशल मल्ल र विवेक यादवले समान ३-३ विकेट लिए । त्यस्तै सोमपाल कामीले दुई र शाहब आलमले एक विकेट लिए ।
कर्णालीका लागि हिमांशु शाहीले सर्वाधिक १९ रन बनाए । दवन पुनले १३ बलमा १८ रन बनाए । बिपिन शाहीले १४ रन बनाए भने कप्तान रबिन्द्र शाही, निश्चल रावल र दिपेन्द्र रावतले समान १२ रन बनाए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले ५० ओभरमा ५ विकेट गुमाउँदै २७९ रन बनायो । आर्मीका लागि विनोद भण्डारीले शतक प्रहार गरे । यस्तै बसिर अहमतले ९८ रनको योगदान दिए । कर्णालीका लागि दिपेन्द्र रावतले दुई विकेट लिए । जितसँगै आर्मीको फाइनल पुग्ने सम्भावना बलियो भएको छ ।