वडाद्वारा विपन्न मजदुरको बीमा गरियो-Sutra News

वडाद्वारा विपन्न मजदुरको बीमा गरियो

सोमबार, १५ माघ २०८०

सोमबार, १५ माघ २०८०
Family health care and insurance concept

बाँके । नेपालगञ्ज उपमहानगर १ कार्यालयले आर्थिक अवस्था कमजोर भएका विपन्न मजदुरको बीमा गर्न सुरु गरेको छ । वडा कार्यालयले आफ्नो वडामा बसोबास गर्ने विपन्न वर्गका कामदारको एक लाखसम्मको बीमा गर्न सुरु गरेको हो ।



म्यादी लघु जीवनमा एक लाखसम्मको बीमा गर्न थालिएको वडाध्यक्ष प्रमोद रिजालले बताए । उनले गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडसँग सम्झौता गरी बीमा अभियान नै सञ्चालन गरिएको जानकारी दिए ।

वडाध्यक्ष रिजालका अनुसार १८ वर्षदेखि ५५ वर्षका मानिस विपन्न नागरिकको बीमा गरिने छ । वडासचिव भूविन्द्रप्रसाद कँडेल, इन्स्योरेन्स कम्पनी नेपालगञ्जका प्रबन्धक लक्ष्मी विष्टको उपस्थितिमा वडाध्यक्ष रिजाल र इन्स्योरेन्सका क्षेत्रीय प्रबन्धक विमल खड्काले सम्झौता गरेका हुन् ।

वडाध्यक्ष रिजालले १८ वर्ष उमेर भएकाको हकमा २७९ र ५५ वर्षको उमेर भएकाको एक हजार १३५ तिरेर बीमा गरिने जानकारी दिए । बीमाबापतको रकम वडा कार्यालयले दिने छ ।

“बीमा एक वर्षका लागि हुनेछ, अर्को वर्ष गर्न चाहेमा फेरि गर्नु पर्छ”, रिजालले भने । उनका अनुसार सवारी चालक, उद्योगमा काम गर्ने कामदार, डकर्मी, सिकर्मी, पेन्टिङ व्यवसायी, दैनिक मजदुरी गर्ने, कृषि मजदुरलगायत श्रम गरी खाने वडाभित्रका नागरिकको बीमा गर्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट