काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय प्रतियोगितामा नेपाल पुलिस क्लबले गण्डकी प्रदेशलाई ६ विकेटले पराजित गरेको छ । योसँगै पुलिस क्लब फाइनलमा पुगेको छ । पुलिस दुई खेलअघि नै फाइनलमा पुगेको हो ।
जितका लागि १७१ रनको मध्यम लक्ष्य पछ्याएको पुलिस क्लबले २४.२ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य भेट्टाएको हो । पुलिसको जितमा दीलिप नाथले सर्वाधिक ५७ रन बनाए ।
कुशल भुर्तेल २२ रन बनाएर आउट भए । अर्जुन साउद ४४ रनमा नटआउट हुँदा आरिफ शेख २७ रनमा नटआउट रहे ।
गण्डकीका सन्दीप पराजुलीले ६.२ ओभरमा २१ रन खर्चेर २ विकेट लिए । विपिन खत्री र कमल परियारले १–१ विकेट लिए ।
त्यसअघि गण्डकी प्रदेश ३८.३ ओभरमा १७० रन बनाउँदा अलआउट भएको थियो । गण्डकीका अमृत गुरुङले सर्वाधिक ५० रन बनाए । अन्य ब्याटरले रन बनाउन सकेनन् ।
पुलिसको जितमा तीव्र गतिका बलर राशिद खानले ६ ओभरमा २५ रन खर्चेर ५ विकेट लिए । ललित राजवंशी र करण केसीले २–२ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले १ विकेट लिए ।