काठमाडाैं । नेकपा (एकीकृत समाजवादी)मा पदाधिकारी र केन्द्रीय कमिटीकाे संरचना हेरफेर भएकाे छ । यही १४ र १५ माघमा बसेको पार्टीको केन्द्रीय परिषद्को दोस्रो बैठकले हेरफेरकाे निर्णय गरेको हो ।
जसअनुसार पदाधिकारीकाे संख्या १९ सदस्यीय हुने भएको छ भने केन्द्रीय कमिटीकाे संख्या १९९ सदस्यीय बनाइएकाे भएकाे छ ।
बैठकले महाधिवेशन र अधिवेशनका प्रतिनिधिहरू सम्बन्धित पार्टी कमिटीले निर्धारण गरेका निर्वाचन क्षेत्रबाट निर्वाचित हुने पनि एकीकृत समाजवादीको निर्णय छ । त्यस्तै, सबै कमिटीका पदाधिकारी तथा सदस्यहरू प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गरिएको छ ।
यस्तै, बैठकले प्रदेश कमिटीकाे संख्या ७५ देखि ९९ सदस्यीय बनाउने निर्णय गरेकाे छ भने प्रदेश पदाधिकारीको संख्या ७ रहने निर्णय गरेकाे छ।
त्यस्तै, प्रतिनिधिसभाको एउटा मात्र निर्वाचन क्षेत्र भएका जिल्लामा ५५ सदस्यीय जिल्ला कमिटी हुनेछ । एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा जिल्ला कमिटीमा थप तीन जना सदस्य रहनेछन् । जिल्ला कमिटीका पदाधिकारीहरू भने ७ जना रहनेछन् ।