काठमाडौं । बाबुछोरीको पारिवारिक कथा बोकेको ‘चित्रा’ फिल्मको अष्ट्रेलियामा रेड कार्पेट प्रिमियर हुने भएको छ ।
निर्माण पक्षले दिएको जानकारीअनुसार फिल्मको फरवरी ९ तारिखका दिनमा अष्ट्रेलियाको तासमानिया राज्यको भिलेज सिनेमाज् इस्टल्याण्डस रोसनी पार्कमा प्रमियर हुनेछ ।
निर्माताबाट अभिनेतामा डेब्यु गरेका सन्तोष अधिकारीले प्रिमियरमा उक्त शहरका मेयरसहित केही कलाकारसमेत सहभागी हुने जनाएको छ ।
फिल्मबाट मिलेको प्रतिक्रियाबाट हौसिएका अधिकारीले आफ्नो कर्मभूमि अष्ट्रेलियाका फिल्ममेकरले जन्मभूमि नेपाललाई आफ्नो छायाकन गन्तव्यका रुपमा चिनुन भन्ने उद्देश्यले सिनेमाको प्रिमियर गर्न लागिएको बताए । उनले पर्यटनलाई पनि केही टेवा मिल्न सक्ने बताएका थिए ।
उनले यसलाई आफ्नो देशका लागि गरेको व्यक्तिगत प्रयास भनेका छन् ।
सो प्रिमियरको टिकटदर ३० अष्ट्रेलियन डलर तोकिएको छ । नेपालको झल्को दिने प्रिमियर स्थल तास्मानियामा भुटानी नेपालीसहितका नेपालीहरुको उल्लेखनीय बसोबास छ ।
घनश्याम लामिछाने निर्देशित फिल्म पुष २७ गते शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आएको थियो । पुष २२ गते गरिएको प्रिमियरमा फिल्मले प्रशंसा बटुलन सफल भएको थियो ।
फिल्ममा डेब्यु अभिनेता सन्तोषका अलावा प्रमोद अग्रहरी, अर्पण थापा, मेनुका प्रदान, शुभेच्छा खड्का, प्रकाश घिमिरे, अञ्जना बराइली, सिम्रन खड्का, आयुशी ढकाल, कुमार गुरुङ, उज्ज्वल ढकालको अभिनय छ ।
महेश पौडेलको छायांकन रहेको ‘चित्रा’मा राजनराज सिवाकोटीको संगीत छ भने मनिष गौतमको पटकथा एवं संवाद लेखन छ । चित्राका निर्माता आशिष थापा मगर हुन् भने सन्तोष अधिकारी कार्यकारी निर्मातामा रहेका छन् ।
यस्तै, फिल्मको एसोसिएट निर्मातामा राज श्रेष्ठ छन् । फिल्ममा बनिश शाह र सन्देश शाहको संयुक्त सम्पादन रहेको छ ।