एकै वर्षमा १४० उद्योग बन्द-Sutra News

एकै वर्षमा १४० उद्योग बन्द

मंगलबार, १६ माघ २०८०

मंगलबार, १६ माघ २०८०

चितवन । घरेलु तथा साना उद्योग कार्यालय चितवनमा दर्ता भई सञ्चालनमा रहँदै आएका १४० वटा उद्योग बन्द भएका छन् । कार्यालयका अनुसार चालु आर्थिक वर्षमा ती उद्योग बन्द गर्नका लागि कार्यालयमा निवेदन परेको हो ।



कार्यालयका सूचना अधिकारी नारायणप्रसाद खनालका अनुसार ३१ वटा उत्पादनमूलक, ५५ वटा कृषि तथा वनजन्य, २० वटा पर्यटनमूलक र ३४ वटा सेवामूलक उद्योग बन्द भएका छन् ।

सोही समयमा ४० वटा उद्योगले नामसारी गरेका छन् । खरिद बिक्रीपछि नाम सारी गरिएको उनको भनाइ थियो । ११ वटा उद्योगले ठाउँसारी गरेका छन् ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा २५८ वटा उद्योग दर्ता भएका छन् । साना उद्योगतर्फ ती फर्महरू दर्ता भएका हुन् । गत वर्षको तुलनामा यस वर्ष उद्योग दर्ता हुने क्रम न्यून र बन्द हुने तथा बिक्री हुने क्रम तीव्र भएको पाइएको उनले बताए ।

सोही समयमा व्यावसायिक फर्महरु १८१ वटाको लगत कट्टा गरिएको छ । १३ वटाको नामसारी र २२ वटाको ठाउँसारी गरिएको उनको भनाइ थियो । व्यावसायिक फर्मतर्फ २७३ वटा नयाँ दर्ता भएका छन् । गत आर्थिक वर्ष २०७९/८० मा व्यवसाय बन्द गर्नेको संख्या ४३४ रहेको थियो ।

कार्यालयमा दर्ता हुन आउने उद्योगहरु अधिकांश महिलाका नाममा दर्ता हुने गरेका छन् । राजस्वमा ५० प्रतिशत छुट हुने भएकाले महिलाका नाममा दर्ता गर्नेको संख्या बढेको खनालले जानकारी दिए ।

चालु आर्थिक वर्षमा १३३ जना महिला उद्यमीले उद्योग दर्ता गराउँदा पुरुषका नाममा १११ वटा दर्ता भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट