मन्त्रिपरिषद् पुनर्गठनकाे तयारी : माओवादीका सबै र कांग्रेसका चार मन्त्री फेरिने पक्कापक्की !-Sutra News

मन्त्रिपरिषद् पुनर्गठनकाे तयारी : माओवादीका सबै र कांग्रेसका चार मन्त्री फेरिने पक्कापक्की !

मंगलबार, १६ माघ २०८०

मंगलबार, १६ माघ २०८०

काठमाडाैं । आफ्नो कार्यकाल एक वर्ष पुगेकै अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अफ्नो दोस्रो वर्षमा उत्कृष्ट कार्यसम्पादन गर्ने दाबी गर्दै कार्यसम्पादन मूल्यांकनका आधारमा मन्त्रीमण्डल पुनर्गठन गर्ने उद्घोष गरेका थिए । तर, सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नै मन्त्रीमण्डलप्रति उदासीन बन्दा प्रधानमन्त्री प्रचण्डले कार्यसम्पादनमा कमजोर देखिएका मन्त्रीलाई पनि हटाउन सकेका थिएनन् ।



राष्ट्रियसभा निर्वाचन लगत्तै सत्ता गठबन्धनका शीर्ष नेताहरू खासगरी नेपाली कांग्रेसका सभापति देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री प्रचण्ड मन्त्रीमण्डल पुनर्गठन गर्ने सहमति नजिक पुगेको प्रधानमन्त्री निकट स्रोतले दाबी गरेको छ ।

मन्त्रीमण्डल पुनर्गठन गर्दा आफ्नो रुचि नभएका मन्त्री हटाएर मन्त्रीपरिषद्लाई चुस्त बनाउने तयारी गरेका प्रधानमन्त्री प्रचण्डले मन्त्रीमण्डल पुनर्गठन गर्दा नेपाली कांग्रेसबाट कांग्रेस सभापति देउवा पत्नी आरजु राणा देउवा प्रचण्ड सरकारमा उपप्रधानसहित परराष्ट्रमन्त्री बन्ने पक्कापक्की भएको बालुवाटार निकट स्रोतले दाबी गरेको छ । सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले केही मन्त्री विस्थापित गर्दै गर्दा प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकि सभापति समेत रहेकी देउवा पत्नी आरजुलाई मन्त्री बनाउन प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवा सहमत भएको स्रोतको दाबी छ ।

पछिल्लो समय सत्ता गठबन्धनमै रहेर सत्ता गठबन्धनको विपक्षमा उत्रिएको जनमत पार्टीलाई सरकारबाट निकालेर उसले सम्हाल्दै आएको एउटा मन्त्रालय माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई थप गर्ने तथा माओवादी केन्द्र, जनता समाजवादी, एकीकृत समाजवादीका सबै मन्त्रीको सेट परिवर्तन गर्न सत्ता पनि सम्बन्धित दल सहमत भएको बुझिएको छ भने ९ मन्त्रालय सहित सरकारमा सहभागी भएको कांग्रेसबाट नाैमध्ये चार मन्त्री मात्रै परिवर्तन गर्ने तयारी अगाडि बढाइएको स्रोतको दाबी छ ।

कांग्रेसबाट परिवर्तन गर्नुपर्ने मन्त्रीको लिस्टमा अर्थमन्त्री प्रकाशशरण महत, स्वास्थ तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेत, युवा तथा खेलकुद मन्त्री डिग बहादुर लिम्बू र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल रहेको प्रधानमन्त्री निकट स्रोतको दाबी छ । अहिले परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका एनपी साउद पुनर्गठित मन्त्रीमण्डलमा अटाउँछन वा अटाउन्नन यो विषय भने टुंगो लाग्न बाँकी रहेको छ ।

नेपाली कांग्रेसले मंगलबारदेखि १० दिने समुदायमा कांग्रेस अभियान सुरु गरेको तथा पटकपटक मिति सर्दै आएको महासमिति बैठकपछि मात्रै मन्त्रीमण्डल पुनर्गठन गर्न कांग्रेसले आग्रह गरेपनि प्रधानमन्त्री प्रचण्ड भने जतिसक्दो छिटो मन्त्रीमण्डल पुनर्गठन गर्ने तयारीमा रहेको बताइन्छ ।

सत्ता गठबन्धनका अन्य दलबाट को-को मन्त्री बन्ने भन्ने सम्बन्धित दलमा आन्तरिक छलफल अघि बढेपनी नेपाली कांग्रेसबाट गृहमन्त्रालय समेत सम्हाल्नेगरी महामन्त्री गगन थापालाई मन्त्रीमण्डमा समावेश गराइदिन प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति देउवालाई आग्रह गरेको बुझिएको छ भने त्यसबाहेक पनि कांग्रेसबाट अर्का महामन्त्री विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्यहरू प्रदीप पौडेल, रामहरि खतिवडा, चन्द्र भण्डारी, बद्री पाण्डे, रमेश लेखक लगायत आकांक्षी छन् ।

नेपाली कांग्रेसको बदलिँदो आन्तरिक शक्ति समीकरणको प्रभाव मन्त्रीमण्डल पुनर्गठनमा पर्न सक्ने चर्चा चल्न थालेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेर उच्च अदालतको आदेशपछि धरौटीमा रिहा भएका नेपाली कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाण संस्थापन इतर समूहमा लागेको चर्चाले कांग्रेस सभापति देउवा समेत झस्किएकोले महासमिति बैठकपछि मात्रै मन्त्रीमण्डल पुनर्गठन हुनसक्ने सम्भावना रहेको कांग्रेसका नेताहरूको भनाइ छ ।

अघिल्लो वर्ष नै देउवा पत्नी आरजुलाई उपप्रधानमन्त्रीको जिम्मेवारी दिन प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणको बेलामा दिल्लीमा भएको भेटमा नै प्रचण्ड सकारात्मक रहेको र मौखिक सहमति समेत भैसकेको केहीले दाबी गर्दै आइरहेका सन्दर्भमा अबको मन्त्रीमण्डल पुनर्गठनमा आरजु समेटिने समाचारले कांग्रेस र राजनीतिक वृत्तमा चर्चा पाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट