सन्दीपलाई दाेषी ठहर गर्ने फैसलाको पूर्णपाठ : के लियाे अदालतले आधार ?-Sutra News

सन्दीपलाई दाेषी ठहर गर्ने फैसलाको पूर्णपाठ : के लियाे अदालतले आधार ?

मंगलबार, १६ माघ २०८०

मंगलबार, १६ माघ २०८०

काठमाडाैं । सन्दीप लामिछानेलाई बलात्कार अभियोगमा दोषी ठहर गरेको जिल्ला अदालत काठमाडौले फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको पूर्णपाठमा क्रिकेटर लामिछानेले यौन सम्बन्ध राख्ने मनसायले नै पीडित महिलालाई होटल लगेको र कमजोर आर्थिक हैसियतको फाइदा उठाएर गौशाला २६ लाई बलात्कार गरेको ठहर गरेको छ ।



क्रिकेटर लामिछानेले आफ्नो स्टारडमको आडमा बलात्कार गरेको ठहर गरेको हो । उक्त मुद्दामा क्रिकेटर लामिछानेलाई दोषी ठहर गर्दै ८ वर्ष कैद र ३ लाख रुपैया जरिवाना तथा पीडितलाई थप २ लाख क्षतिपूर्ति दिनुपर्ने पनि फैसलामा उल्लेख छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले क्रिकेटर सन्दीपले गौशाला २६ माथि बलात्कार गरेको निष्कर्षमा पुग्ने दुईवटा आधार प्रस्तुत गरिएको छ । जसमा पहिलो पीडितको बयान र दोस्रो उनिहरू दुई विचको असमान हैसियत । जिल्ला अदालत काठमाडौंले जाहेरीकर्ताको बयानलाई नै बलात्कारको सबैभन्दा ठूलो प्रमाण मानेको छ भने समान सामाजिक-आर्थिक हैसियत नभएका महिला र पुरुषबीच सहमतिमा करणी हुन नसक्ने दलिल समेत गरिएको छ ।

‘जबर्जस्ती करणी मुद्दामा पीडित नै घटनाको आधारभूत गवाह भएको र अन्यथा नभएसम्म निजको भनाइ नै सर्वाधिक महत्वको प्रमाण हुनेहुँदा पीडितले जबर्जस्ती गरेको भनी भनेको अवस्था र पीडित तथा प्रतिवादीको असमान हैसियत रहेको देखिएको अवस्थामा भएको करणीको कार्यलाई मञ्जुरीमा भएको भन्न मिल्ने अवस्था देखिएन’, जिल्ला अदालत काठमाडौले सार्वजनिक गरेको फैसलाको पूर्णपाठमा उल्लेख गरिएको छ ।

असमान शक्ति सम्बन्धमा कमजोर व्यक्ति अर्कोप्रति सहज रूपमा विश्वासमा परेको सर्वोच्च अदालतको नजिर समेतलाई उल्लेख गर्दै कुनै क्षेत्र विशेषमा ख्याति प्राप्त व्यक्ति र समर्थकबिच हुने करणीलाई बलात्कार नै ठहर्ने अदालतको ठहर छ ।

‘प्रतिवादी सन्दीप लामिछाने २२ वर्षका र निज नेपाली क्रीकेट टिमका कप्तान रही क्रीकेट खेलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति कमाएका मान्छे देखिन्छन् । पीडित (किशोरी) सन्दीप लामिछानेको खेलसमर्थक (फ्यान) देखिन्छिन ।

यस्ता निर्वल व्यक्तिलाई अर्को पक्षले सहजै दुरुपयोग गर्नसक्ने हुँदा त्यस्ता व्यक्तिहरू यौन जोखिममा रहेका हुन्छन । यसरी जोखिममा रहेका व्यक्तिसँग हुने यौन क्रियाकलापका सम्बन्धमा मञ्जुरीको प्रश्न उठेमा असमान शक्ति सन्तुलनको दृष्टिकोणबाट हेरिनुपर्ने’ अदालतको ठहर छ ।

यस्तै उक्त घटनामा पीडितले प्रतिकार नगरेको अर्थात् मञ्जुरी दिएको तथा सन्दीपलाई फसाइएको भन्ने तर्कको अदालतले खण्डन गरेको छ । अनपेक्षित घटनामा पीडितले प्रतिकार गर्ने अवस्था नै नहुने उल्लेख गर्दै पीडित किशोरीले क्रिकेटर लामिछानेलाई फसाउनुपर्ने कुनै कारण पनि नदेखिएको ठहर गरेको छ ।

‘सन्दीप घटनाको दिनको भोलिपल्ट विदेश जान्व योजनामा रहेको देखिन्छ । यस्तो अवस्थामा निजले पीडितलाई होटलमा लिएर जानू र आफूलाई तय गरिएको होटलमा नबसी पीडित बसेको कोठामा नै बसेको देखियो । प्रतिवादीको मनसाय पीडितसँग करणी गर्नु रहेको अनुमान गर्न सकिन्छ । पीडितले प्रतिवादीलाई फसाउनुपर्ने सम्मको कुनै कारण पनि देखिंदैन ।’ अदालतको पूर्ण पाठमा उल्लेख गरिएको छ ।

क्लोज क्याम्पमा रहेको र भोलिपल्ट विदेश जानुपर्ने सन्दीपले आफ्ना लागि तय गरिएको हायात प्यालेसको कोठामा नबसी राती पीडितलाई होटलमा लिएर जानू, पीडित बसेको कोठामा बस्नुजस्ता क्रियाकलाप गर्नु तथा पीडित किशोरीले त्यसबखत आफू ठिकठाक रहेको भनी साथीलाई गरेको म्यासेज पनि करणीअघिकै भएको ठहर गरेको छ ।

फैसलाको क्रममा क्रिकेटर लामिछानेका कानुन व्यवसायीले पीडितको म्यासेजलाई आधार मानी सफाई पाउनुपर्ने दाबी पेश गरेपनि अदालतले उक्त म्यासेज घटना भन्दा अगाडि भएको ठहर गर्दै उक्त म्यासेजलाई अदालतले प्रमाणको रूपमा स्वीकार नगरे पनि स्वास्थ परिक्षणबाट भने जबर्जस्ती करणी पुष्टि नभएको पनि अदालतको फैसलाको पूर्णपाठमा स्वीकार गरिएपनि घटना भएको धेरै दिनपछि स्वास्थ परिक्षण भएकोले त्यसबाट यथार्थ पत्ता नलाग्ने तर्क न्यायाधीशले गरेका छन् ।

तर, कानुन क्षेत्रका जानकारहरूले भने फैसलामा जस्तै पूर्णपाठमा पनि बलात्कार भएको ठहर गर्ने तथ्य प्रमाण उजागर नगरी जाहेरीकर्ताको बयानलाई सर्वोपरि मानेको, असमान हैसियतका पुरुष र महिलाबिच सहमतिमा शारीरिक सम्पर्क हुनै नसक्ने तथा क्रिकेटर र गौशाला २६ बिच अनुमानको आधारमा करणी ठहर गरेको भन्दै लामिछानेविरुद्ध गरिएको कठोर फैसलाको धरातल निकै कमजोर रहेको टिप्पणी गर्दै उच्च अदालतले उक्त फैसला उल्ट्याउने दाबी गरेका छन् ।

अब जिल्ला अदालतको फैसलाको पूर्णपाठ सार्वजनिक भएसँगै लामिछानेलाई पुनरावेदनको लागि उच्च अदालत जाने बाटो खुलेको छ । उच्च अदालतबाट सन्दीपले सफाइ पाउलान् वा दोषी नै ठहर होलान् आफ्नो विचार कमेन्टमार्फत व्यक्त गर्नु सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट