काठमाडौं । दक्षिण अफ्रिकामा जारी आईसीसी यू १९ विश्वकप २०२४ मा नेपालले बंगलादेशसँग खेल्दै छ । खेल नेपाली समयअनुसार आज दिउँसो १ः४५ मा माङ्गाउगं ओभलमा हुनेछ ।
तर, नेपाल सुपर सिक्स खेल्नुअघि नै सेमिफाइनल बाहिरिसकेको छ । त्यसैले नेपाल लक्ष्यविना उत्कृष्ट खेल्दै बंगलादेशलाई स्तब्ध पार्ने तयारीमा हुनेछ । तर, बंगलादेशको सुपर सिक्सको अंक गणित सम्भावना राख्न विशाल जित निकाल्नु पर्ने हुन्छ ।
नेपाल सुपर सिक्समा दुई खेलमा अंकविहीन हुँदै पाँचौं स्थानमा छ । बंगलादेश २ खेलमा २ अंकका साथ तेस्रो स्थानमा छ । समान ६-६ अंक भए पनि नेटरनरेटका आधारमा भारत शीर्ष र पाकिस्तान दोस्रो स्थानमा छन् ।
नेपाल र बंगलादेशबीच यू १९ विश्वकपमा हालसम्म दुई खेल भएका छन् । नेपालले २००२ को विश्वकपमा बंगलादेशलाई २३ रनले हराएको थियो । २०१६ को यू १९ विश्वकप क्वाटरफाइनलमा नेपाल ६ विकेटले पराजित भएको थियो ।