मन्त्री फेरबदल गर्ने प्रचण्ड तयारीमा फेरि भाँजो !-Sutra News

मन्त्री फेरबदल गर्ने प्रचण्ड तयारीमा फेरि भाँजो !

बुधबार, १७ माघ २०८०

बुधबार, १७ माघ २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्नै क्याबिनेटको काम गराईप्रति सन्तुष्ट छैनन् । उनी केही महिनादेखि नै कमजोर कार्यसम्पादन भएका मन्त्रीलाई हटाउँदै मन्त्रीपरिषद् हेरफेरको तयारीमा छन् । तर, उनको तयारीमा सत्तागठबन्धनभित्रै भने सहमति छैन ।



विशेषगरी गठबन्धनको मुख्य दल नेपाली कांग्रेस मन्त्रिपरिषद् हेरफेरको पक्षमा देखिएको छैन । मन्त्री हेरफेर गर्दा आन्तरिक विवाद बढ्ने आंकलनसहित कांग्रेस सभापति शेरबहादुर देउवाले उक्त तयारीमा असहयोग गर्दै आइरहेका छन् ।

विशेषगरी इतर पक्षलाई कसरी व्यवस्थापन गर्ने भन्ने चुनौति सभापति देउवामा रहेको नेताहरु बताउँछन् । संस्थापन पक्षका एक नेताले बताएअनुसार मन्त्री हेरफेर गर्नुपर्छ भन्ने पक्षमा सभापति देउवा भएपनि सम्भावित किचलोलाई व्यवस्थापन गर्न तत्काल निर्णय गर्ने स्थिति छैन ।

“मन्त्रीहरुको कार्यसम्पादनमाथि प्रश्न उठेको छ, कतिपयले मन्त्रीहरु हेरफेर गरेर जानुपर्छ भन्ने भनाई राख्नुभएको छ, स्वयम् सभापति पनि त्यो पक्षमा हुनुहुन्छ”, ति नेताले भनेका छन्, “तर, कसरी मिलाउने भन्ने समस्या छन्, तत्काल केही असहज हुन्छ भन्ने बुझाई देखिन्छ ।”

प्रचण्ड नेतृत्वको सरकारमा कांग्रेसका ८ मन्त्री छन् । जसमध्ये इतरपक्षबाट दुई मन्त्री सहभागि छन् । सुरुदेखि नै इतर पक्षले दुई मन्त्री दिएकोमा असन्तुष्टी जनाइरहेको छ ।

मन्त्रीहरु फेरबदल गर्दा कम्तीमा तीन मन्त्री र एक राज्यमन्त्री पाउनुपर्ने अडान इतर पक्षको छ । यस्तोमा फेरबदल गर्दा थप सकस हुने बुझाईमा सभापति देउवा देखिन्छन् ।

इतर पक्षभित्रै पनि अर्को राजनीति

प्रचण्ड नेतृत्वको सरकारमा इतर पक्षबाट धनराज गुरुङ र डिगबहादुर लिम्बु मन्त्री छन् । तत्कालिन समय इतर पक्षले न्यूनतम ४० प्रतिशत हिस्सामा बारगेनिङ्ग गरेको बेला गुरुङ र लिम्बु अन्यलाई थाहै नदिइ मन्त्री बनेका थिए ।

तत्कालिन समय इतर पक्षका नेता शेखर कोइरालाले अर्का नेता तथा पार्टी महामन्त्री गगन थापासँग सल्लाह नै नगरीकन दुईलाई मन्त्रीमा सिफारिस गरेका थिए । जुन सिफारिसले इतर पक्षमा रडाको मच्चाएको थियो ।

गुरुङ र लिम्बु स्वयम् पनि मन्त्रीपरिषद् हेरफेर नहोस् भन्ने पक्षमा छन् । पुनः मन्त्री बन्न कस्तो राजनीति हुन्छ भन्ने अन्योल दुईमा देखिन्छ ।

बुधबार बुटवल पुगेका गुरुङले मन्त्री फेरबदलको सम्भावना नरहेको बताएका छन् । “सत्तारूढ दलका नेताहरूबीच छलफल गर्दा अहिलेलाई यही ठिक छ तर, मन्त्रीहरूको पर्फमेन्स चाहिँ देखाउनुपर्छ भन्ने भएको छ”, उनले भनेका छन्, “मन्त्रीहरू तत्कालका लागि मन्त्री फेरबदल हुँदैन ।”

प्रचण्डको योजना निरन्तर असफल

प्रधानमन्त्री प्रचण्डले आफ्नो एक वर्षे कार्यकाललाई सम्बोधन क्रममा गत पुस १० मा ‘मन्त्री फेरबदल गरेर जाने’ बताएका थिए । उनले जसरी पनि नतिजा दिने घोषणा गरेका थिए ।

तर, प्रधानमन्त्री प्रचण्डले मन्त्री फेरबदलको घोषणा गरेको एक महिना बित्दासमेत कुनै निर्णय गर्न सकेका छैनन् । जसले प्रधानमन्त्रीलाई निकै असहज बनाएको उनी निकटका नेताहरु बताउँछन् ।

पछिल्लो समय केही विवादित मन्त्रीको कारण पनि उनी हैरानीमा छन् । आफ्नै पार्टीबाट मन्त्री बनेका नारायणकाजी श्रेष्ठ, सुदन किराँती, शक्ति बस्नेतकै विकल्प खोज्नुपर्ने दबाब प्रचण्डमाथि छ । तर, गठबन्धनभित्र सहमति नबन्दा निर्णय गर्ने अवस्था बन्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट