काठमाडौं । औद्योगिक लगानी प्रवर्द्धन गरिरहेको आरकेडी होल्डिङ लिमिटेडले सर्वसाधरणका लागि आईपीओ जारी गर्ने भएको छ ।
कम्पनीले चुक्ता पुँजीको ४० प्रतिशत बराबरको आईपीओ जारी गर्ने भएको हो । कम्पनीले एक करोड ४० लाख कित्ता शेयर प्रिमियम मूल्यमा सर्वसाधारणका लागि जारी गर्ने भएको हो ।
कम्पनीले बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेड, टुरिजम इन्भेस्टमेण्ट फण्ड लिमिटेड, बिजबजार लिमिटेड, पञ्चासे केबलकार लिमिटेडलगायत पूर्वाधारयुक्त उद्योग तथा रियल स्टेटमा लगानी गर्दै आएको छ ।
कम्पनीले आईपीओ बिक्रीको प्रक्रिया पूरा गर्न शेयर बिक्री तथा जारी प्रबन्धक र शेयर बिक्री प्रत्याभूतकर्ता कम्पनी नियुक्ति गर्ने अन्तिम तयारी गरेको छ । छिटै कम्पनीको सातौँ साधारण सभा आह्वान गरी शेयर निष्कासनसम्बन्धी विशेष प्रस्ताव पारित गर्ने कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए ।
लगातार नाफामा रहेको कम्पनीले आफ्नो कारोबारलाई थप विस्तार गर्नका लागि प्रिमियम मूल्यमा शेयर जारी गर्न लागेको हो । कम्पनीको अधिकृत पुँजी पाँच अर्ब रुपैयाँ रहेको छ भने तत्काल जारी पुँजी तीन अर्ब ५१ करोड रुपैयाँमध्ये प्रवर्द्धकले दुई अर्ब १० करोड ६० लाख रुपैयाँ चुक्ता गर्ने कबुल गरेका छन् ।
बाँकी एक अर्ब ४० करोड ४० लाख रुपैयाँ स्थानीय र सर्वसाधारणमा शेयर जारी गरी संकलन हुने पुँजीले उत्पादनमूलक उद्योगहरु प्रवर्द्धन गरी कम्पनीको आम्दानी बढाउने कम्पनीको रणनीति रहेको छ ।