खराब कर्जाले थचारिँदै प्रभु बैंक-Sutra News

खराब कर्जाले थचारिँदै प्रभु बैंक

बुधबार, १७ माघ २०८०

बुधबार, १७ माघ २०८०

काठमाडौं । सेन्चुरी बैंकलाई गाभेपछि प्रभु बैंक थप बलियो हुने अनुमान धेरैको थियो । स्वभावतः मर्जरपश्चात बैंकको तथ्यांकीयरुपमा पुँजीगत संरचना झण्डै दोब्बरले ठूलो देखियो ।



तर, पुँजीगत संरचनाका आधारमा ठूलो बनेपनि बैंक एकपछि अर्को गर्दै कमजोर बन्दै गएको छ ।

पछिल्लो आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरणलाई हेर्दा, बैंकको खुद नाफा झण्डै आधाले घटेको छ । विवरणअनुसार अघिल्लो आर्थिक वर्षको दोस्रो त्रैमासको अवधिभन्दा ३९.९७ प्रतिशतले घट्दै बैंकको खुद नाफा ७२ करोड ३ लाख ४१ हजार रुपैयाँमा सीमित भएको छ ।

जबकी अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको खुद नाफा एक अर्ब १९ करोड ९९ लाख ६१ हजार रुपैयाँ कमाएको थियो ।

एकातिर खुद नाफा अत्याशलाग्दो गरी घटेको छ भने अर्कोतिर खराब कर्जा (एनपीएल) चुलिएको छ । अघिल्लो आर्थिक वर्षको दोस्रो त्रैमाससम्म बैंकको एनपीएल १.९८ प्रतिशत थियो भने अहिले बढेर ४.९० प्रतिशत पुगेको छ । वाणिज्य बैंकहरुमा सबैभन्दा बढी खराब कर्जा भएको बैंकमा प्रभु परेको छ ।

खराब कर्जा बढेपछि मेन्टेन गर्न बैंकले इम्पेयरमेन्ट चार्ज एक अर्ब २५ करोड रुपैयाँ छुट्याएको छ । अघिल्लो आर्थिक वर्ष बैंकको इम्पेयरमेन्ट चार्ज ४२ करोड ६७ लाख रुपैयाँ थियो ।

निक्षेप संकलन र कर्जा प्रवाहमा पनि बैंक क्रमशः कमजोर बन्दै गएको छ । अघिल्लो आर्थिक वर्षको यो अवमिा बैंकले २ खर्ब ८९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको थियो । तर, दोस्रो त्रैमाससम्मको अवधिलाई हेर्दा बैंकको निक्षेप संकलन २ खर्ब ९१ अर्ब रुपैयाँ सीमित भएको छ भने कर्जा प्रवाह २ खर्ब ३१ अर्ब रुपैयाँ झरेको छ ।

विवरणअनुसार बैंकको समीक्षा अवधिसम्म वितरणयोग्य मुनाफा १ अर्ब ८६ करोड रुपैयाँले ऋणात्मक रहेको बैंकको वार्षिकीकरण प्रतिशेयर आम्दानी (ईपीएस) घटेर ६.१२ रुपैयाँमा खुम्चिएको छ । अघिल्लो वर्ष ईपीएस १०.१९ रुपैयाँ थियो । पीई रेसियो २५.९३ गुणा रहेको बैंकको प्रतिशेयर नेटवर्थ १३५.०२ रुपैयाँ रहेको छ ।

नाफा बाँड्न नसक्ने अवस्थामा पुग्यो बैंक

बैंकले पछिल्लो पाँच आर्थिक वर्षलाई हेर्दा, ८ प्रतिशतदेखि १६.८४ प्रतिशतसम्म मुनाफा बाँडेको थियो । आर्थिक वर्ष २०७५/२०७६ मा १६.८४ प्रतिशत मुनाफा बाँड्न सफल भएको बैंकले पछिल्लो आर्थिक वर्ष २०७८/२०७९ मा सबैभन्दा कम ८ प्रतिशत मुनाफा बाँडेको थियो ।

तर, यसपटक भने लगानीकर्ताको हात खाली भयो । चुलिएको घाटालाई पूर्ति गर्न बैंक सञ्चालक समितिले लाभांश वितरण नगर्ने निर्णय गर्‍यो । माघ ८ मा बसेको बैंक सञ्चालक समितिको बैठकले मुनाफा नबाँड्ने निर्णय गरेको थियो ।

सम्बन्धित समाचार

https://sutranews.com/203097/2024/30/

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट