मापसे गरी सवारी चलाउने ३९ हजार जना परे कारबाहीमा-Sutra News

मापसे गरी सवारी चलाउने ३९ हजार जना परे कारबाहीमा

बिहिबार, १८ माघ २०८०

बिहिबार, १८ माघ २०८०

काठमाडौं । नेपाल प्रहरी मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउनेमाथि कारबाहीलाई तीव्र पारेको छ । यस क्रममा प्रहरीले आर्थिक वर्ष २०८०-८१ को गत साउनदेखि पुससम्म मापसे गरी सवारी चलाउने ३९ हजार २७२ जना र लागू पदार्थ सेवन (लापसे) गरी सवारी चलाउने २४२ जनालाई कारबाही गरेको छ ।



मापसेबाट गरिएको कारबाहीबाट कूल तीन करोड ९९ लाख ६९ हजार राजस्व संकलन भएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ । यात्रु, सवारी र सडकलाई सुरक्षित बनाउँदै गन्तव्यमा पुर्‍याउन तथा दुर्घटना न्यूनीकरण गर्न मापसे तथा लापसे चेकिङ प्राथमिकतामा राखिएको छ ।

चालकले मापसे गरी सवारी साधन चलाउँदा आकस्मिक र गम्भीर दुर्घटना निम्त्याउने गरेको तथ्यांकले देखाउँछ । सीसीटीभीको पहुँच न्यून र सीमित ठाउँमा मात्र ट्राफिक प्रहरीको उपस्थितिका कारण मापसे गरी सवारी चलाउने प्रवृत्ति बढ्दो देखिएको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले बताए ।

उनकाअनुसार यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्नुका साथै मापसे तथा लापसे नियन्त्रणलाई प्रभावकारी बनाउन नेपाल प्रहरीले सक्रियता देखाउँदै आएको छ । “दुर्घटनाबाट आफ्नो र यात्रुको ज्यान बचाउन प्रत्येक चालकले सही हालतमा सवारी साधन चलाउनु पर्छ, यो कुरालाई स्थानीयस्तरमा सबै नागरिकले बुझ्न र पालना गर्न आवश्यक हुन्छ,” केन्द्रीय प्रहरी प्रवक्ता ढकालले भने ।

यस आर्थिक वर्षको छ महिनामा मापसे गरी सवारी चलाउने काठमाडौं उपत्यकामा १८ हजार ६२७, कोशी प्रदेशमा दुई हजार ५२४, मधेस प्रदेशमा दुई हजार २१, बागमती प्रदेशमा एक हजार ९८, गण्डकी प्रदेशमा आठ हजार ९२३, लुम्बिनी प्रदेशमा दुई हजार ७७३, कर्णाली प्रदेशमा एक हजार २६४ र सुदूरपश्चिम प्रदेशमा दुई हजार ४२ जना कारबाहीमा परेका प्रहरीको तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट