विवेकको प्रदर्शनमा आर्मीले पुलिसलाई दियो १८२ रनको लक्ष्य-Sutra News

विवेकको प्रदर्शनमा आर्मीले पुलिसलाई दियो १८२ रनको लक्ष्य

शनिबार, २० माघ २०८०

शनिबार, २० माघ २०८०

काठमाडौं । अलराउण्डर विवेक यादवको अर्धशतकमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय प्रतियोगिता फाइनलमा नेपाल पुलिस क्लबलाई १८२ रनको लक्ष्य दिएको छ ।



त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको आर्मी ४९.५ ओभरमा १८१ रनमा अल आउट भयो । आर्मीका विवेक यादवले ८१ बलमा ७ चौका र १ छक्कासहित ६३ रन बनाए । अन्तिम ओभरको पाँचौं बलमा विवेक रन आउट भएका थिए । सोमपाल कामीले ५८ बलमा १ चौका र १ छक्कासहित ३९ रन बनाए ।

अन्तिम विकेटका लागि विवेकले जितेन्द्र मुखियासँग ४२ रनको साझेदारी गरेका थिए । जितेन्द्र ११ बलमा २ रनमा नट आउट रहे । स्पिनर सहयोगी पिचमा आर्मीका शीर्ष र मध्यक्रमका ब्याटर धेरै समय क्रिजमा टिक्न सकेनन् ।

स्पिनर ललितनारायण राजवंशीले शीर्ष तीन ब्याटरलाई आउट गर्दै दबाबमा राखेका थिए । पाँचौं ओभरको पहिलो बलमा ललितले सन्तोष कार्कीलाई ६ रनमा बोल्ड आउट गरे ।

कुशल मल्ल ३२ बलमा २ चौकासहित १७ रनमा आउट भए । ओपनर इमरान शेख स्वीप खेल्ने क्रममा डीप स्क्वायर लेगमा शंकर रानाबाट २२ रनमा क्याच आउट भए ।

पुलिसका स्पिनर ललितनारायण राजवंशीले १० ओभरमा २ मेडनसहित २१ रन खर्चेर ३ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले ९ ओभरमा ३१ रन खर्चेर ३ विकेट लिए । सागर ढकाल, करण केसी र कुशल भुर्तेलले १र१ विकेट लिए । करण केसीले १० ओभरमा ६५ रन खर्चेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट