डढेलोमा परी ५१ जनाको मृत्यु, थप विवरण आउन बाँकी-Sutra News

डढेलोमा परी ५१ जनाको मृत्यु, थप विवरण आउन बाँकी

आइतबार, २१ माघ २०८०

आइतबार, २१ माघ २०८०

काठमाडौं । चिलीमा लागेको डढेलोका कारण आइतबारसम्म कम्तीमा ५१ जनाको मृत्यु भएको छ । सडक र घरहरू जलेर नष्ट भएका छन् ।



सुख्खा मौसम र तापक्रम ४० डिग्री सेल्सियस (१०४ डिग्री फरेनहाइट)सम्म पुगेपछि देशको मध्य र दक्षिणी भागमा आपत कालीन अवस्था घोषणा गरिएको छ ।

शनिबार अधिकारीहरूले ‘प्रारम्भिक’ मृत्यु संख्या १० जनाभन्दा बढी भएको हुन सक्ने बताएपछि राष्ट्रपति गेब्रियल बोरिकले डढेलो नियन्त्रणका लागि आवश्यक सबै स्रोत साधन उपलब्ध गराउने मार्ग प्रशस्त गर्दै तत्काल ‘विपत्तिका कारण आपतकालीन अवस्था’ को घोषणा गरेका छन् ।

चिलीको मध्य तटीय क्षेत्रमा पर्ने भाल्पाराइसो पर्यटकीय क्षेत्रको भिना डेल मार सहरमा बाक्लो खैरो धुँवाको कारण त्यहाँका बासिन्दाले श्वासप्रश्वासमा कठिनाइको महशुस गरेपछि शहरबाट सुरक्षित स्थलतर्फ भाग्न बाध्य भएका छन् ।

एल निनो मौसमी घटनाका कारण दक्षिण अमेरिकाको दक्षिणी भागलाई प्रभावित गर्ने ग्रीष्म कालीन गर्मी र खडेरीका कारण डढेलो लागेको हो । वैज्ञानिकले तीव्र गर्मी र डढेलोजस्ता प्राकृतिक प्रकोपहरूको जोखिम बढेको भन्दै सावधानीका लागि जानकारी गराएका छन् ।

चिली र कोलम्बियाले बढ्दो तापक्रमसँग जुधिरहँदा आगामी दिनमा अर्जेन्टिना, पाराग्वे र ब्राजिलमा पनि गर्मी बढ्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट