काठमाडौं । साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको गिरावट देखिएको छ । आज नेप्से परिसूचक पाँच दशमलव ३१ अंकले घटेर दुई हजार ६१ दशमलव ७० को बिन्दुमा कायम भएको हो ।
विभिन्न कम्पनीका ३०७ कम्पनीको ९२ लाख ७२ हजार ७८२ कित्ता शेयर ७० हजार ७९० पटक खरिद बिक्री हुँदा तीन अर्ब २१ करोड ६७ लाख २७ हजार २२१ बराबरको कारोबार भएको छ ।
विकास बैंक शून्य दशमलव ६६, वित्त समूह शून्य दशमलव ४०, लगानी समूह शून्य दशमलव ०९ र निर्जीवन बीमा समूहको उपसूचक शून्य दशमलव ५१ प्रतिशतले बढेको छ । अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै अन्य समूहको उपसूचक एक दशमलव ०४ र जीवन बीमा समूहको उपसूचक शून्य दशमलव ५४ प्रतिशतले घटेको छ ।
युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ भने महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा पाँच दशमलव ३७ प्रतिशतको गिरावट आएको छ ।
कारोबार रकमका आधारमा सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको ३३ करोड ५८ लाख ३२ हजार ८०९ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर संख्याका आधारमा सबैभन्दा धेरै नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको पाँच लाख २५ हजार ५८ कित्ता शेयर किनबेच भएको छ ।