काठमाडौं । पछिल्लो नौ दिनदेखि सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगन थापा झापा–कञ्चनपुर यात्रामा छन् । ‘समुदायमा कांग्रेस’ नाम दिएको थापाको यात्राले देशभरका भूइँ मान्छेसँग कांग्रेस जोडिने दाबी गरिएको छ ।
कांग्रेस महामन्त्री थापा यात्रामा निस्किँदै गर्दा कांग्रेस नेता कृष्णप्रसाद सिटौला र अर्का महामन्त्री विश्वप्रकाश शर्माले बिदाई गरे । सिटौला माघ ११ गते सम्पन्न राष्ट्रियसभा निर्वाचनमा निर्वाचित भई पराजित यात्रालाई पूर्णविराम लगाउँदै संसदमा जाने भएका थिए ।
यसअघि गत वर्ष सम्पन्न आम निर्वाचनमा कांग्रेस नेता सिटौला राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनसँग पराजित भएका थिए । निर्वाचनमा पराजित भएको वर्ष दिनपछि सिटौला विजयी भएर सांसद बने । राष्ट्रियसभा सांसद बनेका सिटौलाको पहिलो काम महामन्त्री थापालाई यात्राका लागि बिदाई थियो ।
यात्रामा जाँदै गर्दा महामन्त्री थापाले जनतामा भएको निराशालाई कांग्रेसले परिवर्तन गरी निराशामुक्त बनाउने दाबी गरे । उनले भने, ‘जनतामा निराश छ, त्यही निराशामा कसैले व्यापार गर्ने र कसैले फाइदासहित लाभ लिने गर्नु भएको छ, तर कांग्रेसले समाज परिवर्तनसहित निराशामुक्त बनाउनु छ ।’
यात्रा सुरु गर्नुअघि आफूले समाज परिवर्तन र जनताको निराशा मुक्त गर्ने घोषणा गरेका गगनले आम जनताले हराएको वर्ष दिनपछि ‘जस्केला’बाट सांसद बनेका सिटौलासँगै आर्शिवाद लिए । आफ्नै पार्टीभित्रका नेता कार्यकर्ताको निराशामा ध्यान दिन चाहेनन् ।
कांग्रेस महामन्त्री थापाले यात्रा सुरु गरेको करिब एक सातापछि चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि काठमाडौंमा खानेपानी ल्याइएको मेलम्चीको मुहानमा पुगेर ‘दबाब अभियान’ सुरु गरेको छ ।
रास्वपाले देशका २१ ठूला निर्माणधीन आयोजनाको काम पूरा गर्न दबाब दिनका लागि हिँडेर यात्रा गर्ने जनाएको छ । दबाब यात्रापछि सरकारलाई समाधानको पत्र दिने पार्टी सभापति रवि लामिछानेको भनाइ छ ।
‘ज्ञापन पत्र बुझाएर ङिच्च हाँस्ने काम गर्दैनौँ, समाधान पत्र दिन्छौँ,’ सभापति लामिछानेले भने, ‘राजनीति कुटनीतिसँग केही सरोकार छैन, नेपाली जनता हिँड्ने बाटो राम्रो हुन पर्यो, एउटा बाटोका लागि एक युग पर्खिन सकिँदैन ।’
रास्वपाको दबाब अभियान मूलतः विकास आयोजनाको काम सम्पन्न गर्नका लागि दबाब दिन भनिए पनि वि.सं. २०८४ मा हुने चुनावमा केन्द्रीत भएको अर्का नेताले खुलाए । पार्टी उपसभापति तथा सांसद डा. स्वर्णिम वाग्लेले आफूहरुको यात्रा मूलतः आगामी निर्वाचनमा केन्द्रीत भएको बताएका हुन् । उनले आगामी निर्वाचनमा रास्वपाले बहुमत ल्याउनेसम्म दाबी गरे ।
‘यो आन्दोलनले एउटा झिल्को दिइरहेको छ, ०८४ सम्मको हाम्रो अभियानहरु यो श्रृङ्खलाहरु अटुट रुपमा जाने छ’ डा. वाग्लेले थपे, ‘०८४ मा हाम्रो हातमा बागडोर आएपछि कसरी सत्ता चलाउँछौ भन्ने कुराको पनि हामीले झिल्को दिन खोजिरहेका हौँ ।’
रास्वपाले यसअघि नै ‘मिसन ०८४’ भन्दै विभिन्न अभियान सञ्चालन गर्दै आएको थियो । यसका लागि पार्टीका नेता तथा कार्यकर्ताले आफ्नो अभियानलाई तीव्र बनाउँदै गर्दा देशको दोस्रो ठूलो दल नेकपा एमालेले ‘मिसन ०८४’ चलायो । पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सम्पन्न भएको अभियान तीन हप्तासम्म चलेको थियो ।
एमालेले गत मंसिर १४ गते पश्चिम महाकाली नदीको किनार झुलाघाटदेखि पूर्वको चिवाभञ्ज्याङसम्मको यात्रा गरेको थियो । अध्यक्ष ओलीको नेतृत्वमा भएको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’पछि एमालेले एक प्रतिवेदन बनाएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सामु पेश गरेको थियो ।
एमालेले प्रधानमन्त्रीलाई पेश गरिएको प्रतिवेदनमा देश विकाससँग सम्बन्धिन भएको दाबी गरिएको छ । जसलाई प्रधानमन्त्री प्रचण्डले आगामी आर्थिक वर्षको बजेटमा समेट्ने एमालेलाई आश्वासन दिएका थिए ।
एमालेले आफ्नो यात्रा सुरु गर्नुअघि सत्तारुढ दल नेकपा माओवादी केन्द्रले चार महिनासम्म देश दौडाहको अभियान सञ्चालन गरेको थियो । माओवादीले चार महिनासम्म ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ चलाएको थियो ।
माओवादीको अभियान प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले पार्टी कार्यालय पेसिरडाँडाबाट सुरु गरी त्यहीबाट अन्त्य गरेका थिए । जनतासँग सम्बन्ध बिग्रिएको निष्कर्ष निकाल्दै सुरु गरेको अभियानपछि पार्टी अध्यक्ष प्रचण्डले अभियान धेरै राम्रो भएको दाबी गरे ।
पूृर्वराजाको आफ्नै दौड
पछिल्लो समय पूर्वराजा ज्ञानेन्द्र शाह देश दौडाहामा छन् । ७६ वर्षको उमेरमा उनलाई फेरि राजतन्त्र फर्काउने मोह चढेको छ । जनताको नासो भन्दै सत्ता हस्तान्तरण गरेका उनी आफूलाई देशले खोजिरहेको अभिव्यक्तिसम्म दिन भ्याएका छन् ।
राजा फालेर गणतन्त्र ल्याउन माओवादीबाट राजनीति सुरु गरेका व्यवसायी दुर्गा प्रसाईंलाई समेत बोलाएर राजतन्त्र फर्काउन ज्ञानेन्द्रले दबाब दिएका छन् । गत माघ १५ गते ज्ञानेन्द्रले प्रसाईंलाई निवासमा बोलाएर छलफलसमेत गरे ।
पूर्वराजालाई भेटेपछि दुर्गा प्रसाईंले देशले छिट्टै निकास पाउने दाबी गरे । उनले आफ्नो सामाजिक सञ्जालमा भने, ‘श्री ५ महाराजधिराज सरकारसँगको अर्थपूर्ण भेट, भ्रष्ट नेताबाट प्रताडित देशले छिट्टै निकास पाउनेछ, धैर्य गर्नु होला ।’
पूर्वराजा ज्ञानेन्द्रले संसदको पाँचौ ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेताहरुलाई समेत छुट्टाछुट्टै बोलाएर राजतन्त्रको माहोल बलियो बनाउन दबाब दिँदै आएका छन् ।
यसैबीच पूर्वयुवराज्ञी हिमानी शाहले ज्ञानेन्द्रलाई जति देशको चिन्ता कसैलाई नभएको बताएकी छन् । ‘भीवाईएफ टक्स शो’मा अभिनेत्री मनिषा कोइरालाले लिएको अन्तर्वार्तामा उनले राजतन्त्रको बारेमा मुख खोलेकी हुन् ।
शुक्रबार सार्वजनिक भएको अन्तर्वार्तामा देश दौडाहको बारेमा हिमानीले भनिन्, ‘मभन्दा पनि मेरो बुबाहजुर (पूर्वराजा) जहाँ सवारी हुनुहुन्छ, त्यहाँ जनताले त्यति प्रेम देखाउँछन्, त्यो भनेर पनि सकिँदैन, र उहाँलाई नेपालको धेरै नै माया छ, उहाँले आफै पनि भनिबक्सिदैन ।’
यस्तै, हिमानीले पूर्वराजालाई फर्काउनका लागि सबैले साथ दिनु पर्ने बताएकी छन् । ‘बुबा हजुरले जति माया र कठिनाईलाई लिइबक्सेर गर्छु भन्नु भएको छ, त्यसमा हामी सबै जनाले साथ दिनैपर्छ भन्ने लाग्छ,’ उनले थपिन् ।