काठमाडौं, । मेनुका पौडेल चर्चित भारतीय टेलिभिजन रियालिटी शो ‘इण्डियन आइडल’बाट बाहिरिएकी छन् ।
मेनुका आइतबारको एपिसोडमा प्रतिस्पर्धाबाट बाहिरिएकी हुन् । उनी शोको उत्कृष्ट १० मा छनोट हुन सफल भएकी थिइन् ।
प्रतिस्पर्धाबाट बाहिरिएपछि मेनुकाले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो इण्डियन आइडलको यात्रा टुङ्गिएको जानकारी गराएकी छन् ।
उनले इण्डियन आइडलको प्रतिस्पर्धाबाट बाहिरिनु आफ्नो समाप्ति नभई सुरुवात भएको जनाएकी छन् । साथै, उनले यो वर्षभरि नै आफ्नो पाइप लाइनमा संगीतको योजना रहेकाले आउने दिनहरूमा पनि आफूलाई यस्तै माया गर्न आग्रह समेत गरेकी छन् ।
उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘ आजबाट इण्डियन आइडलको मेरो यात्रा सकिएको छ । तर मेरो जीवनको सांगीतिक यात्रा भने भर्खर सुरु भएको छ । म पहिलाभन्दा सक्रिय रहेर गायन र प्रस्तुतिमार्फत सबैलाई अझै मनोरञ्जन दिनेछु । इण्डियन आइडल सिजन १४ को टप १० सम्म पुर्याउन साथ दिनुहुने सबैप्रति आभार व्यक्त गर्न चाहन्छु । यो मेरो सुरुवात हो, समाप्ति होइन । अहिलेको लागी इण्डियन आइडलबाट बिदा माग्न चाहन्छु ।’
यो अवधिमा मेनुकाले दक्षिण भारतीय अभिनेता प्रभास अभिनीत फिल्म ‘सलार’ मार्फत भारतीय फिल्म गायनमा डेब्यु समेत गरेकी छन् । ‘इन्डियन आइडल’मा रहँदा चिकित्सकहरूले उनलाई ‘एआई भिजन चस्मा’ समेत उपहार दिएका थिए । जसमार्फत अबदेखि उनले पढ्न, हिँड्न र मान्छे चिन्न सक्छिन् ।
झापाको हल्दिवारी गाउँपालिकामा जन्मिएकी फरक क्षमताकी मेनुकाको गायन प्रतिभाले भारतीय प्रतिष्ठित सञ्चार माध्यममा स्थान बनाएको थियो । मीठो सुरकी धनी मेनुकाले जब उनी इन्डियन आइडलको उत्कृष्ट १५ मा पुगेर प्रत्येक कार्यक्रममा निर्णायकहरूको वाह वाही पाउँथिन् ।
हरेक शृङ्खलामा मेनुकाले नै उच्च स्कोरसहित स्ट्यान्डिङ अवेसन पाउँदै आएकी थिइन् भने उनको प्रस्तुतिले शोमा सहभागी हुने विशेष अतिथिहरूको पनि मन जितिरहेकी हुन्थिन् । यस्तै, बलिउड नायक रणवीर कपुरले त उनको खुट्टा छोएर आशीर्वाद मागेका थिए ।
मेनुकाले वि.सं २०७४ सालमा ‘नेपाल आइडल’मा समेत प्रतिस्पर्धा गरेकी थिइन् । उनी चार वर्षअघि अर्को रियालिटी शो ‘सारेगमप’ मा पनि भाग लिन गएकी थिइन् । त्यो बेला उनले प्रशस्त ख्याति कमाएकी थिइन् भने ’सारेगमप’ को टप ११ बाट बाहिरिएकी थिइन् ।