काठमाडौं । महिला सङ्घर्षको कथामा फिल्म ‘रुखान’ बन्ने भएको छ ।
सविर श्रेष्ठको निर्देशनमा बन्न लागेको फिल्मको थिम पोस्टरमा एक जना महिला न्यायका लागि मुठ्ठी कसेर विद्रोहमा उत्रिएको देखाउँदै घोषणा गरिएको हो ।
‘न्याय देउ’ भन्दै सार्वजनिक गरिएको पोस्टरमा मुखमा अक्सिजन लगाएर उपचार गराइरहेका एक पात्रलाई पनि पोस्टरमा देखाइएको छ । साथै, पोस्टरमा आन्दोलनको झलक दिने तस्बिर समेत समावेश गरिएको छ । यो फिल्मले आम नागरिकको समस्याको कथा भन्ने सङ्केत गरेको देखाउँछ ।
कलकार र प्राविधिक फाइनल हुन बाँकी रहेको फिल्मको विषयमा निर्देशक श्रेष्ठले एक महिलाको सङ्घर्षको कथा रहने बताएका छन् ।
निर्देशक श्रेष्ठ भन्छन्, ‘यो एक महिलाको सङ्घर्षको कथा हो । यसको माध्यमबाट हामीले सिङ्गो देशका नागरिकहरूको समस्यालाई भन्ने प्रयास गर्नेछौँ ।’
फिल्मको मुख्य पात्रमा महिला कलाकार हुने र कलाकारहरू फाइनल गर्ने क्रम जारी रहेको सविरको भनाई छ ।
सविन फिल्मस्, भिक्टोरी प्रोडक्शन हाउस प्रा.लि र काइट्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको यो फिल्मलाई ४ वटा भाषामा निर्माण गरिने बताइएको छ । निर्माण पक्षका अनुसार फिल्मलाई नेपाली, अंग्रेजी, हिन्दी र भोजपुरी भाषामा निर्माण गरिने छ ।
कृष्ण थापा (अष्ट्रेलिया) र सुरेश गुरुङको निर्माणमा बन्ने यो फिल्ममा डाक्टर रुपक घिमिरेको कथा रहेको छ । फिल्मका कार्यकारी निर्माता नायक सविन श्रेष्ठ हुन् । फिल्म निर्माणमा आवरण स्किन एण्ड हेयर क्लिनिकले पनि सहकार्य गरेको छ ।
फिल्ममा अर्जुन पोखरेलको संगीत, अभिमन्यु निरवीको पटकथा तथा संवाद रहनेछ ।