काठमाडौं । आगामी शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘दयारानी’को पोखरामा प्रिमियर शो सम्पन्न भएको छ ।
आइतबार पोखराको मिडटाउन सिनेमाज्मा गरिएको प्रिमियर शोमा फिल्म हेरेका अधिकांश अतिथिहरूले फिल्मको कथावस्तु मन परेको बताए ।
फिल्म हेर्न पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, गण्डकी प्रदेशका पूर्व अर्थमन्त्री किरण गुरुङ, मादी गाउँपालिकाका अध्यक्ष देवीजङ्ग गुरुङ, कवि रमेश श्रेष्ठ, कलाकार प्रकाश घिमिरे, गायक तथा संगीतकार राजनराज सिवाकोटी, ‘दयारानी’का लेखक तथा निर्देशक माओत्से गुरुङ, अभिनेत्री दिया पुन लगायतको उपस्थिति थिए ।
मेयर आचार्यले प्रिमियर शोमा फिल्म हेरे.पछि भने, ‘पोखरामा पछिल्लो समय एकपछि अर्को साहित्य, कला र फिल्म क्षेत्रका गतिविधिहरू भइरहेको देख्दा खुसी लागेको बताए । प्रिमियर शोमा ‘दयारानी’ले राम्रो प्रतिक्रिया पाएको छ । फिल्मले देखाउन खोजेको कथा उपस्थित पाहुनालाई मन परेको छ ।’
पूर्व अर्थमन्त्री किरण गुरुङले फिल्म हेरिसकेपछि भने, ‘माओत्से गुरुङ कलाकारितासँगै निर्देशन र लेखनमा समेत अब्बल ठहरिनुभएको छ । निःसन्तान हुँदा घरपरिवार र समाजले हेर्ने दृष्टिकोणलाई यस फिल्म मार्फत उजागर गर्न खोजिएको रहेछ । फिल्मको कथा उत्कृष्ट छ । फिल्ममा पात्रले निभाएको भूमिका तारिफ योग्य छ ।’
मादी गाउँपालिकाका अध्यक्ष देवीजंग गुरुङले आफ्नो गाउँपालिकाको याङ्जाकोटमा छायांकन गरिएको ‘दयारानी’ मार्फत यो ठाउँको पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास लिएका छन् । मादी गाउँपालिकाका धेरै ठाउँ फिल्म छायांकनका लागि उत्कृष्ट रहेको भन्दै ‘दयारानी’ मार्फत याङ्जाकोटको प्रचारमा महत्त्वपूर्ण टेवा पुग्ने बताए ।
‘दयारानी’ निर्देशक तथा लेखक माओत्से गुरुङले कलाकार भएर अभिनय गुर्नुभन्दा बढी निर्देशनमा गाह्रो हुने अनुभव सुनाए । उनले भने,–‘कलाकार भएर थुप्रै सिनेमामा अभिनय गरिएको छ । अभिनयमा त्यति अप्ठ्यारो लाग्दैन जति निर्देशनमा लाग्छ । निर्देशन गर्दा जिम्मेवारी हुन्छ ।’
अभिनेत्री दिया पुन पनि ‘दयारानी’बाट आशावादी देखिइन् । यो फिल्मले आफ्नो कला कर्ममा अगाडी बढ्न सहयोगी हुने विश्वास व्यक्त गरिन । फिल्ममा रानीको भूमिकामा रहेकी दियाले माओत्से गुरुङको निर्देशनमा सामाजिक परिवेशलाई फिल्मको पर्दामा ल्याइएकाले यो चरित्रमा अभिनय गर्न पाउँदा नौलो लागेको बताइन् ।
बाँसुरी फिल्मस् र माओत्से फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मलाई शैलेन्द्र ध्वज कार्कीले खिचेका हुन् ।
फिल्ममा दयाहाङ र दियाका अलावा विजय बराल, प्रमिसा गुरुङ, पुष्कर गुरुङ, टिकाराम घले, शिरिषा कुँवर, नयन गुरुङ, सुर्य सुनार, राजेन्द्र थापा, सीतादेवी गुरुङ र क्रिष्टी गुरुङ लगायतका कलाकार पनि अभिनय छ ।
मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बु र न्यू आइटी भेन्चरको सहकार्यमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता रामबाबु गुरुङ र अपिल विष्ट हुन् ।