सुनसरी । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकारले फरक ढंगबाट जनताको समस्यालाई सम्बोधन गर्न विभिन्न काम गरिरहेको जानकारी दिएका छन् ।
उनले भने, “सरकारले प्रदेशको भौतिक पूर्वाधार,शिक्षा, स्वास्थ्य लगायत क्षेत्रमा फरक ढंगबाट विपन्न जनतालाई लाभ हुने गरी काम गरिरहेको छ ।”
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ४ मा स्थित जामिया इस्लामिया मदर्सामा सोमबारदेखि सुरुवात भएको चार दिने वार्षिक शैक्षिक तथा सांस्कृतिक प्रतियोगिता कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले १० वर्षमुनिका बालबालिकाका लागि निःशुल्क उपचारको व्यवस्था गरेको बताए ।
प्रदेश सरकार दक्ष जनशक्ति उत्पादनमा केन्द्रित रहेको र यस्ता जनशक्तिलाई प्रदेशमै रोजगारीको अवस्था सिर्जना गर्नेसमेत उनले दाबी गरे । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीव कोइराला, प्रदेश सभासदस्य इसराइल मन्सुरी, सदानन्द मण्डल, इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारी, भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर अजादलगायतको सहभागिता थियो ।