बेलायती राजा चार्ल्सलाई घातक रोग लागेको पुष्टि, भएको के हो ?-Sutra News

बेलायती राजा चार्ल्सलाई घातक रोग लागेको पुष्टि, भएको के हो ?

मंगलबार, २३ माघ २०८०

मंगलबार, २३ माघ २०८०

काठमाडौं । बेलायती राजा चार्ल्सलाई क्यान्सर भएको पुष्टि भएको छ । बकिङ्घम प्यालेसले सोमबार यो जानकारी दिएको हो ।



दरबारले विज्ञप्ति जारी गर्दै राजा चार्ल्सका सबै सार्वजनिक सभाहरू केही समयका लागि स्थगित गरिएको जनाएको छ । दरबारका अनुसार राजा चार्ल्स आफ्नो उपचारको बारेमा धेरै सकारात्मक छन् ।

७५ वर्षीय राजा चार्ल्स गत महिना मात्रै तीन दिन अस्पतालमा भर्ना भएका थिए । उनको प्रोस्टेटको शल्यक्रिया गरिएको थियो । त्यतिबेला उनको शरीरमा अन्य रोगको लक्षण देखा परेको थियो । सोमबार दरबारले ती लक्षणहरूको परीक्षणले एक प्रकारको क्यान्सर पुष्टि गरेको जनाएको हो ।

बुबालाई भेट्न बेलायत जाँदै राजकुमार ह्यारी

प्रिन्स ह्यारीको नजिकको स्रोतका अनुसार बुबालाई क्यान्सर भएको जानकारी पाएपछि उनलाई भेट्न बेलायत जाने बताएको छ । हाल ह्यारी श्रीमती मेगन मार्कलसँग अमेरिकामा बस्दै आएका छन् ।

यसैबीच बेलायती प्रधानमन्त्री ऋषि सुनकले पूर्ण निको हुने विश्वास लिएका छन् । उनले सामाजिक सञ्जालमा पोस्ट गरेका छन्, ‘राजा चार्ल्सलाई पूर्ण र शीघ्र स्वास्थ्यलाभको कामना, म ढुक्क छु उनी छिट्टै पूर्ण शक्तिका साथ फर्कने छन्, मलाई यो पनि थाहा छ कि सम्पूर्ण देशले उहाँलाई शुभकामना पठाउने छ ।’

८ नोभेम्बर २०२२ मा बनेका थिए महाराजा

बेलायतकी महारानी एलिजाबेथको ८ नोभेम्बर २०२२ मा ९६ वर्षको उमेरमा मृत्यु भएपछि चार्ल्स महाराजा बनेका थिए । उनको राज्याभिषेक ६ मे २०२३ मा भएको थियो ।

योसँगै राजा चार्ल्स बेलायतका अहिलेसम्मकै जेठा राजा बनेका छन् । राज्याभिषेकको समयमा उनी ७४ वर्ष भएका थिए ।

गत वर्ष मे ६ मा बेलायतका नयाँ राजा चार्ल्स तेस्रो र रानी क्यामिलाले राज्याभिषेक गरेका थिए । लण्डनको वेस्टमिन्स्टर एबे चर्चमा राजा र रानीको राज्याभिषेक सम्बन्धी समारोह ८० मिनेटसम्म चलेको थियो ।

यसपछि आर्चबिशपले राजा चार्ल्स र रानी क्यामिलालाई ताज पहिराइदिए । राजा चार्ल्सले १६६१ मा बनाएको सेन्ट एडवर्ड्स क्राउन लगाएका थिए । कोहिनूर हीरा रानीले लगाएको मुकुटबाट हटाइएको थियो । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट